
काठमाडौं , २५ फाल्गुण – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजधानीमा राजावादीहरूको भेला सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजसंस्थाका समर्थकहरूको उपस्थिति बढ्दै गएको छ, जसका कारण विमानस्थल क्षेत्र राजनीतिकरूपमा संवेदनशील बन्दै गएको छ।
पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने योजना अनुसार राप्रपाका कार्यकर्ता तथा अन्य राजसंस्थाप्रेमीहरू विमानस्थल बाहिर भेला भएर नाराबाजी गरिरहेका छन्। उनीहरूले पूर्वराजालाई विमानस्थलबाट निर्मल निवाससम्म भव्य स्वागतसहित लैजाने योजना बनाएका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत स्वागतका लागि विमानस्थल जाने तयारीमा छन्, भने राप्रपा नेपाललगायतका अन्य राजावादी संगठनहरूले नागरिकहरूलाई व्यापक सहभागिता जनाउन आह्वान गरेका छन्।
विमानस्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता
राजावादीको गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। विमानस्थलमा अनावश्यक भिडभाड रोक्न प्रशासनले टिकटधारी यात्रु र कर्मचारीबाहेक अन्यलाई प्रवेश निषेध गरेको छ।
सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारका तर्फबाट कुनै अप्रिय घटना हुन नदिन विमानस्थल तथा वरपरका क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गरिएको छ।
पूर्वराजाको आगमनसँगै राजधानीको राजनीतिक माहोल थप तातेको छ। राजसंस्थाको पुनर्स्थापनाको पक्षमा रहेका शक्तिहरूले आफ्नो प्रदर्शनलाई व्यवस्थित बनाउन सक्रियता देखाइरहेका छन्, भने सरकार कुनै पनि अनावश्यक गतिविधि रोक्न तयारी अवस्थामा छ। राजावादी प्रदर्शनले राजधानीको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ। नेपाल पाना