नेपालगन्ज, २२ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भई १६ महिला र १९ पुरुष गरी आज शनिबार ३५ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

आज घर फर्किनेहरु कार्तिक १२ गते आईसोलेसन भर्ना भएका थिए । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शनिबार संक्रमण मुक्त भएका ३५ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या ३ हजार २२ पुगेको बताउनुभयो ।
शनिबारसम्म बाँकेका ३ हजार २२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म बाँकेमा कोरोना संक्रमितहरु ३ हजार ३ सय ३६ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ९०.५९ प्रतिशत रहेको छ । मृत्यु दर १.०५ रहेको छ भने रोग प्रकोप दर ०.५५ प्रतिशत रहेको बताउनुभयो ।

जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुग्दा मृत्यु हुनेको संख्या ३५ रहेको छ भने ३ सय २ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।
