
नेपालगन्ज, १७ माघ – बाँकेमा हुने बलात्कार घटनामा प्रहरीकाे माैनताले बलात्कृत महिला न्यायकाे लागि कहाँ जाने ? प्रश्न उठ्न थालेकाे छ । त्याे घटनाक्रमलाई हेर्ने हाे भने चाहे नेपालगन्ज हाेस व नरैनापुर गाउँपालिका जहाँ पीडितलाई जाहेरी दर्ता कै लागि प्रहरी कहाँ धाउनु पर्ने बाध्यता रहेकाे पीडितहरूकाे आराेप रहेकाे छ ।
नेपालगन्ज–२ घरबारी टोल नजिकै पसल गरि बस्ने एक जना ३५ बर्षिया महिला घर भित्रै बलात्कृत भएकी छन् । बलात्कारका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा नलिंदा ज्यान असुरक्षित भएको ती महिलाले बताएकी छन् । पीडकले बारम्बार फोन मार्फत धम्की दिंदै आएको पनि महिलाले बताइन ।
पीडितको जाहेरी दरखास्त प्रहरीले लिन मानेको छैन । बरु उल्टो धम्काएर पठाउने गरेको पीडित महिलाको भनाइ रहेकाे छ । २०८१ माघ ६ गते अन्दाजी राती ८ बजे तिर ढोका थुनेर घर भित्रै बलात्कार गरेपछि पीडित महिला प्रहरीमा जाहेरी दिन घाइरहेकी छन् ।
प्रहरी समक्ष हारगुहार गर्न थालेको ९ दिन भयो । तर उजुरी लिन प्रहरीले मानेको छैन ती महिलाले बताईन ।
बलात्कृत महिला माथि कुटपिट समेत भएको थियो । पीडकले गरगहना र पसलबाट पैसा समेत लुटेर लगेको बताएकी छन् ।
यस बारेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले बाँके प्रहरीलाई पीडित महिलाको उजुरी तत्काल दर्ता गरि बलात्कार, कुटपिट र लुटपाटमा संलग्नलाई नियन्त्रणमा लिन निर्देशन दिनु भएको एक प्रहरी अधिकारीले बताएका छन् । तर प्रहरीले प्रदेश प्रहरी प्रमुखको निर्देशनको समेत पालना गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता आयुस जोशीले यसबारेमा मुद्धा फाँटले हेरीरहेको र प्रकृया मै रहेको भन्दै शुक्रबार कार्यालय खुले पछि मात्र अन्य प्रकृया अघि बढने जानकारी दिनु भएको छ । जबकी पीडित महिला उजुरी लिएर प्रहरी कार्यालय धाउन थालेको ९ दिन भैसकेको छ ।