
नेपालगन्ज, २१ कार्तिक – कोरोना संक्रमण देखिएकी एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कार्तिक १७ गते सुत्केरी भएकी तुल्सीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षिय महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
सुत्केरी ब्यथाले च्यापेपछि उपचारका लागि कार्तिक १६ गते मेडिकल कलेज कोहलपुरमा उनलाई भर्ना गरिएको थियो । भर्ना भएको एक दिनपछि (१७ गते) उनको बच्चा जन्माएकी थिईन ।
बच्चा जम्मीएपछि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा ति महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमण देखिएपछि कोरोना वार्डमा भर्ना गरेर रोगको प्रकृती अनुसार सबै प्रकारको उपचार सुरु गरीएको थियो ।
उनको आज (शुक्रबार) दिनको ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतकको शव ब्यवस्थापनकालागि बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रयास भईरहेको केन्द्रले जनाएको छ ।
योसँगै उपचारका लागि बाँके आएर ज्यान गुमाउने बाहिरी जिल्लाका संक्रमितहरुको सँख्या २५ पुगेको छ । यसअघि बिहिबार राती दाङ कै ६४ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।
