Friday, February 14सत्यम खबर
Shadow

प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

नेपालगन्ज, ८ माघ – न्यायको खोजी गर्दैै विगतमा भएको हत्या घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन नेपालगन्जमा प्रहरी विरुद्ध नारा लगाउँदै विशाल जुलुससहित विरोध प्रदर्शन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्यामा संलग्नहरुलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारले मंगलवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेका छन् । खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो ।

हत्या भएको १० महिना वित्न लाग्दा समेत प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेपछि पीडित परिवारहरु न्याय खोज्न सडकमा उत्रिएको बताईएको छ । उनीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ताबाट प्रहरी बिरुद्ध नारा लगाउँदै नेपालगन्जको मुटु धम्बोझी चोकमा टायर बाली चक्काजाम गरी बिरोध प्रदर्शन गरेका छन् ।

विगत १० महिना अगाडी अरबी खाँको हत्या भएको घटनामा पीडित परिवारले प्रहरी विरुद्ध नारावाजी समेत गरेका थिए । प्रमाण र किटानी जाहेरी दिँदासमेत प्रहरीले हत्यारालाई पक्राउ नगरेको अरबी खाँकी आमा राविया खाँले प्रहरी माथि आरोप लगाईन ।

उनले हत्यारा र प्रहरीको साँठगाठ गरेको दावी गर्दै न्यायका लागि सडकमा आउनु परेको बताइन् । ‘हत्यारासँग प्रहरीले पैँसा खाएर पक्राउ गर्न आनाकानी गरिरहेको छ,’ उनले आँखामा आँशु झार्दै आक्रोसित मुद्रामा बताईन । उनीहरुले मेराज खाँको संलग्नता भएको दावी गर्दै आएका छन् । मेराजले लगाउने लुगा रगतले लत्पतिएको अवस्थामा घटनास्थल नजिक फेला परे पनि प्रहरीले उनलाई उन्मुक्ति दिएको रावियाको आरोप रहेको छ ।

‘हामीले एउटालाई भन्छौँ । प्रहरीले अरुलाई समातेर लैजान्छ । केरकार गरेर छोड्छ,’ उनले भनिन्, ‘घुस खाएर प्रहरीले अनुसन्धानलाई फितलो बनाएको छ । हामीले भनेको ब्यक्तिलाई समातेर मुद्दा चलाउनु पर्छ ।’ सबुत प्रमाण हुँदाहुँदै प्रहरीले हत्यारालाई उन्मुक्ति दिन खोजेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *