नेपालगन्ज, १९ मंसिर – नेपालगन्जलाई चेनाउने उद्देश्यका साथ २०७३ सालदेखि शुभारम्भ गरिएको नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलि विहिबारदेखि शुरु हुने भएको छ ।
यस पटक नेपालगन्ज कनक्लेभमा मुख्यतः आठ वटा विषयमा प्यानल छलफल हुनेछ जसमा ख्याती प्राप्त हाँस्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्टसँगको अन्तरंग सम्वादबाट शुभारम्भ हुने आयोजकद्वारा प्रेस मिटमा जानकारी गराईएको छ ।
यसैगरी पहिलो सत्रमा नेपालगन्जले वर्षौदेखि भौग्दै आएको उर्जा संकटमा केन्द्रीत हुनेछ । यो सत्रमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग खुला छलफल तथा उर्जाको संकट टार्ने उपाय बारे विमर्श हुने जनाईएको छ । जसको शिर्षक देशले विद्युत निर्यात, नेपालगन्जले भोग्छ उर्जा संकट राखिएको छ ।
दोस्रो सत्रमा व्यापार घाटाको दिगो व्यवस्थापन, निर्यात वस्तुमा मूल्यवृद्धिमा हुनेछ । यसले व्यापार घाटाको स्थितिर्ला व्यवस्थापन गर्न राज्य र निजी क्षेत्रलाई बहसमा ल्याउने छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उद्योगपतिहरु बीचको यो सत्र महत्वपूर्ण हुने आयोजकको विश्वास बताईएको छ ।
यसैगरी तेस्रो पर्यटनमा केन्द्रीत हुनेछ । खासगरी पश्चिम नेपालमा पर्यटनको सम्भावनाको खोजी गर्ने कनक्लेभ सत्रको ध्येय हुने आयोजकद्वारा जनाईएको छ । कर्णाली प्रदेश सरकारका पर्यटनमन्त्री सुरेश अधिकार, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीसहित पर्यटन व्यवसायी र विज्ञहरुलाई वक्ताका रुपमा बोलाईने जनाईएको छ । जसमा पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किटबारे ठोस बहस अघि बढाईने बताईएको छ ।
नेपालगन्ज कनक्लेभ बहसको औचारिक कार्यक्रम मात्र नभई नयाँ बहस सिर्जना गर्ने र अहिलेका समस्याहरुको समाधान खोज्ने थलो बन्ने विश्वास आयोजकको बताईएको छ । नेपालगन्ज डिस्कोर्सका अघिल्ला तीन संस्कारजस्तै यसपटकको कनक्लेभमा साथ सहयोग पाउने अपेक्षा आयोजक टीमको रहेको बताईएको छ ।