नेपालगन्ज, १ मंसिर – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने बताएका छन् ।
रेडियो बागेश्वरी एफएमले शनिबार आयोजना गरेको “बागेश्वरी रन (मिनी म्याराथन) प्रतियोगिताको उदघाटन गर्दै मन्त्री अग्रवालले समय समयमा म्याराथन आयोजना गरिरहनु पर्नेमा जोड दिए । उनले रेडियो बागेश्वरी एफएमलाई सफलताको शुभकामना समेत दिएका थिए ।
रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१ औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन सम्पन्न गरेको हो ।
म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए । म्यारथनमा छात्र तर्फ श्री महेन्द्र मावि नरैनापुरका अरविन्द यादव प्रथम भएका छन् । उनले १८ः३९ः७५ मिनटमा दौड पुरा गरेका थिए । यस्तै जनता नमुना मावि सन्तकोटी खजुराका विजय खडका दोश्रो भएका छन् । ज्ञानोदय नमुना मावि खजुराका खगेन्द्र भण्डारी भने तेश्रो भएका छन् ।
यसैगरी छात्रा तर्फ महेन्द्र मावि नरैनापुरकी गिता साहु प्रथम भएकी छन् । उनले २८ः०१ मिनटमा दौड पुरा गरी प्रथम भएकी हुन् । यस्तै नेपालगन्ज मोेडेल एकेडेमी कारकाँदौकी धिरजा विष्ट दोश्रो भएकी छन् भने सोही विद्यालयकी आरुषी भट्टराई तेश्रो भएकी छन् । प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ । यसका साथै प्रथम, द्धितीय र तृतीय हुनेलाई प्लेटिनियम म्यानेजमेन्ट कलेजमा क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख ५० हजारको छात्रबृत्तिसमेत उपलब्ध गराइएको छ ।
रन फर फनमा योगेन्द्र बुढाथोकी प्रथम भएका छन् । अलि अहमद दोश्रो भएका छन् भने विनोद वर्मा तेश्रो भएका छन् ।
पुरस्कृत हुनेलाई रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डेले पुरस्कार प्रदान गरेका थिए ।
म्याराथन बिहान ७ः३० बजे नेपालगन्ज–१०, आदर्शनगर पेट्रोल पम्पबाट सुरु भएर बी.पी. चौक, धम्बोझी, सेतु विक चौक, त्रिभुवन चौक, हुलाक कार्यालय र शीतलनगर हुँदै पुनः पेट्रोल पम्पमा आएर समापन भएको थियो । समापनपश्चात् प्रत्येकलाई विरुवा समेत वितरण गरिएको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रेडियो बागेश्वरीले केही दिनभित्रै “बागेश्वरी सबमिट“ कार्यक्रम पनि आयोजना गर्दैछ, जसमा तीन वटै प्रदेशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।