
यतिखेर नेपालीको घर–आँगनमा चाडपर्वको माहोल छ । बडादसैंले लगभग बिदा लिन लागेको छ भने अर्को ठूलो पर्व तिहार नजिकै आइपुगेको छ । विजयादशमी समाप्त भए पनि परिवारका जेष्ठ सदस्यबाट टीका, जमरा र आर्शिवाद लिने क्रम भने अझै चलिरहेको छ ।

सामान्यतया वर्षभरि विभिन्न कामले देश–विदेशमा रहे पनि दसैं तिहारमा भने घरमा भेला भई मिठो परिकार खानुका साथै आशिर्वाद आदानप्रदान गर्ने गरिन्छ । यद्यपि, यो वर्ष भने कोभिड–१९ को महामारीको बीचमा दसैं–तिहार मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।
साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ। यो महामारीको विशेष अवस्था हो । कतिपय मानिसले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ । तर कोभिड–१९ संक्रमणबाट बच्न सकेसम्म प्रयास गर्नुपर्छ । मलाई लाग्छ, जटिल अवस्थाका दर्जनौं कोभिड संक्रमितको उपचार र व्यवस्थापनको सिलसिलामा भएका मानवीय क्षति र वेदनाले भरिएका परिदृश्यहरुलाई नजिकबाट अनुभूति गरेको हुनाले कोरोना महामारी सामान्यमात्र हुँदै होइन ।
त्यस्तै, कोभिड–१९ को जोखिम समूह जेष्ठ नागरिक र दीर्घरोगीहरु हुन् । यसर्थ, चाडबाडमा जनस्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ व्यवहारमा लागू गरे दसैं र त्यसपछिका दिनहरु शुभ रहने विश्वास सहित निम्न स्वास्थ्य सावधानी अपनाउन हुन अनुरोध छ ।
१. चाडबाडमा घरमा आउने पाहुनालाई संक्रमण भएको हुन सक्छ भन्ने मान्यता राखी सावधानी अपनाऔं । आफू पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने मुलमन्त्र अबलम्वन गरौं ।
२. घर बाहिरवाट आएपछि अनिवार्य नुहाउने र प्रयोग गरेको कपडा अलग्गै सफा गर्ने ।
३. भरसक आफन्तकोमा नजाने, जानै परे सीमित संख्यामा सावधानी अपनाएर जाने ।
४. आफन्तकोमा जाँदा सीमित कोसेलीहरु लिएर जाने। सकेसम्म घरायसी कोसेली उपयुक्त हुन्छ ।
५. घरमै रहँदा पनि साबुनपानीले मिचिमिची हात धोइरहने ।
६ . घरभित्र सँगै रहँदा पनि पर्याप्त भौतिक दूरी कायम गर्ने ।
७. घरमा रहेका अन्य सदस्यहरुले प्रयोग गर्ने निजी सरसामान जस्तैः ल्यापटप, मोबाइल, तौलियाहरु एक अर्काले प्रयोग नगर्ने । मोबाइलको कभर खोली स्यानिटाइजरले राम्ररी सफा गर्ने ।
८. घरमा रहँदा पनि मास्कको उचित तरिकाले प्रयोग गर्नु उत्तम हुन्छ ।
९. टीका लगाउँदा अनिवार्य दुवैजनाले मास्क प्रयोग गर्ने । प्रत्येक पटक हात धुने वा स्यानिटाइज गर्ने ।
१०. टीका लगाइसकेपछि भरसक खुट्टामा नढोग्ने, टाढैबाट शीर निहु¥याएर दर्शन गर्ने ।
११. पीसिआर फल्स नेगेटिभ आएको वा लक्षणविही नभएको अवस्था पनि हुनसक्ने भएकोले पिसिआर टेस्ट नेगेटिभ आएकोले पनि उत्तिकै सर्तकता अपनाउनु पर्छ ।
१२. संक्रमणपछि निको भएको मानिसमा रोग प्रतिरोधी क्षमता कम भएको हुनाले अन्य अवसरवादी संक्रमणहरु हुनसक्छन् । रिइन्फेक्सन वा पोस्ट कोभिड पनि हुनसक्ने भएकोले थप भर्खरै निको भएको संक्रमितले थप सर्तकता अपनाउनु पर्छ ।
१३. खानेकुरामा मादक पदार्थ, चिल्लो, पिरो वा शरीरको पाचन प्रक्रियामा असर पु¥याउने केही पनि खाने कुरा नखाने ।
१४. फ्रिजमा राखेको पेय पदार्थको प्रयोग
नगर्ने । दिनभर शरीरलाई पुग्ने गरी पर्याप्त मनतातो पानी पिउने ।
१५. खाना खाइसकेपछि वा खानेकुरा खाएपछि ब्रस गर्ने । नुनपानीले मुख कुल्ला गरी ओरल हाइसिन कायम गर्ने ।
१६. सामान्यतया, चाडपर्वमा खानपिनको मात्रा बढी हुने हँुदा शारीरिक अभ्यास र घरायसी कार्यहरु समेत गरेर शरीरलाई सन्तुलित अवस्थामा राख्न प्रयास गर्ने । पर्याप्त सुत्ने । बिहान ७÷८ बजेको घाम ताप्ने ।
१७. आफूले दैनिक खाने औषधि नियमित सेवन तथा प्रयोग गर्ने ।
१८. कोभिड–१९ वा रुघाखोकीको लक्षण र चिह्न नभए पनि दैनिक सुत्ने बेलामा तातोपानीको बाफ कम्तीमा आधा घन्टा लिने ।
(धमला इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख हुन् ।)
(स्रोतः स्वास्थ्यखबरबाट)
