
नेपाल र चिनियाँ अधिकारीहरूबीच सीमा सुरक्षा बैठक
काठमाण्डौ, ९ असोज – नेपाल र चीनका प्रशासनका अधिकारीबीच चरिचरन क्षेत्र खोल्ने र दसैं लक्षित कन्टेनर छोड्नेजस्ता महत्त्वपूर्ण सहमति भएको छ ।
जिल्लाको भोटेकोसी गाँउपालिका वडा नम्बर २ तातोपानीबाट चीन जोड्ने नाकाको लिपिङपारी झाङ्मुमा शनिबार नेपाल-चीनका स्थानीय प्रशासन र सुरक्षा अधिकारीबीच अनौपचारिक बैठक तथा छलफलमा सहमति भएको हो।
प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार लिपिङ पारी चिनियाँ बजार झाङ्मुको प्रशासनिक भवनमा भएको छलफल तथा बैठकमा चिनियाँ पक्ष यहाँ उठेका समस्या समाधान गर्न सकरात्मक छन् । चीनले खासा बजार पुनर्निर्माण गरिरहँदा केही समयदेखि चिनियाँ मालवाहक प्रोटोकलअनुरुप थोरै कन्टेनर मात्रै भित्रिँदा दसैं लक्षित सामग्री समयमा बजारमा पुर्याउन नसक्ने त्रासमा व्यापारी थिए । ‘त्यो समस्या मुख्य रुपमा उठायौं, यसप्रति चीन सकरात्मक देखिएको छ, चाडपर्वको लक्षित सामग्री बोकेका कन्टेनर सामान प्रक्रिया सकेकै दिन खासाबाट पठाउन आग्रह गर्यौं,’ प्रजिअ थापाले भने ।
सीमा सुरक्षा बैठक तथा छलफलमा चीनबाट जाङ्मु र न्यालमका चिनियाँ प्रशासनिक अधिकारी र सुरक्षाकर्मी प्रमुख ,नेपालबाट प्रजिअसहित जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, जिल्ला सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर पोखरेलसहित अन्य सुरक्षाकर्मी उपस्थिति थिए । भूकम्प र पराकम्पनपछि नाका ठप्प बनाएसँगै चीनले डिमु, चौरी र याकको चरिचरन क्षेत्रमा प्रतिबन्ध लगाएको थियो । ‘नौ वर्षपछि चरिचरन क्षेत्र खुलेको छ, अब भूकम्पअघि झैं डिमु, चौरी र याक चिनियाँ लेकमा चर्न सहज पाउनेछन्,’ जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने ।
चीनले ‘क्रस बोर्डर क्राइम’ लाई लिएर मुख्यतः अवैधानिक व्यक्ति आउजाउ र गैरकानुनी गतिविधि रोक्न गस्ती बढाइदिन आग्रह गरेको एसपी खड्काले बताए । यसमा नेपाल -चीनको संयुक्त गस्ती र एकीकृत जाँच गृहको प्रस्ताव राखिएको उनको भनाइ छ । अघिल्लो सीमा सुरक्षा बैठकमा चरिचरन क्षेत्र खुला गराउनदेखि नाकालाई सहज बनाउने विषयमा माग गरिएको थियो । फलस्वरूप खासामा १५ देखि २० नेपाली कामदार काम गर्न पुगेका छन् भने चरिचरन क्षेत्र खुलाइएको छ । ‘क्रमशः अन्य निर्यात , खासा खुलाउने कुरामा चीन सकारात्मक भएको देखिन्छ,’ उनले भने ।
सीमा सुरक्षा बैठक तथा छलफलमा भएका महत्त्वपूर्ण अनौपचारिक निर्णय कार्यान्वयन ल्याउन सीमाका व्यवसायी र जनप्रतिनिधिले आग्रह गरेका छन् । चीनले तीन वर्षभित्र ‘स्मार्ट सिटी ‘ बनाउने लक्ष्यका साथ यहाँ पुराना संरचना भत्काइरहेको छ । खासा र न्यालमको बीचमा सुरुङ, सडकजस्ता संरचना निर्माण गर्दैछ । त्यसबीच खासामा गोदाम नहुँदा तातोपानी नाकाका व्यापारीले हालेको सामग्री चिनियाँ कन्टेनरले रसुवागढीस्थित केरुङमा पुर्याइदिन थालेको छ । यसले व्यवसायी चीन्तित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
‘त्यो निर्णय कार्यान्वयनमा आउन समय लाग्न सक्छ । दसैं आइसक्यो । तर यहाँ तातोपानी भन्सारमा आउनुपर्ने सामान केरुङ पुगेका छन् ,यसले तातोपानी नाकाका व्यवसायी निरुत्साहित देखिन्छन्, उता केरुङमा सबै सामान भित्र्याउन भ्याइनभ्याई भएकाले कन्टेनर अभावले कन्टेनर र गोदामको भाडा महँगिएको छ ,’ उनले भने ।
यसअघि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ , नेपाल हिमालय सीमापार वाणिज्य संघ ,नेपाल कन्टेनर संघसहित जनप्रतिनिधि, व्यवसायीले पटकपटक ज्ञापनपत्र बुझाँउदै यहाँको समस्याबारे प्रधानमन्त्रीलाई आग्रह गर्दै दबाब दिइरहेका छन् । कान्तिपुर