
नेपालगन्ज, ८ असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई आज १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर स्थित खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकी नगदसहित पक्राउ गरेको जनाएको छ ।
गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकीको तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रुपैया ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खान तलासी गर्दा नेपाली ७ लाख १० हजार २ सय ५५ तथा भारतीय रुपैया ५९ हजार ५ सय सहित पक्राउ गरी थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बताईएको छ ।
प्रहरीले सम्बन्धितलाई पक्राउ गर्ने क्रममा घरको खान तलासी गर्दा उनको घरबाट विभिन्न बैंकमा विभिन्न व्यक्तिको नाममा जम्मा गरेका बैंक भौचरहरुलगायत बैंकका टोकनहरु समेत बरामद गरिएको जनाएको छ ।