
काठमाण्डौ, ८ भाद्र – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणाले आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी दिनुभएको हो । नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी पनि उहाँले दिनुभयो ।
परराष्ट्रमन्त्री डा राणा भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कनुभएको हो । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताउनुभयो । उहाँले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाउनुभएको थियो ।
मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस. जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उहाँको भनाई थियो ।
भ्रमणकाक्रममा गत सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो । त्यस भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताउनुभएको जानकारी मन्त्री डा राणाले दिनुभयो ।
सोही दिन विदेशमन्त्री एस.जयशङ्करसँग भएको भेटवार्तामा आपसी हितका साथै उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायतका विषयमा कुराकानी भएको उहाँले जानकरी दिनुभयो ।
भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरुको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायहरुद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि उहाँले जानकारी दिनुभयो ।
महिलाको प्रतिनिधित्व बढाऔँ, अनुशासनमा ध्यान दिउँ
सो बैठकमा मन्त्री डा राणाले नेपाली कांग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने धारणा पनि राख्नुभयो । उहाँले भन्नुभयो “कतिपय प्रतिनिधिमण्डहरुमा महिलालाई नै सहभागी गराउँ भन्दा पनि त्यो तहमा महिला उपलब्ध छैनन् । त्यसैले यस्ता विषयमा अब हाम्रो पार्टीले अझै ध्यान दिनुपर्छ । कांग्रेसको समावेशिताको नीतिकै कारण उच्च तहमा महिला पुगेका पनि छन् । यसलाई थप बढाउनु जरुरी छ । पार्टी या अन्यत्र पनि पदाधिकारी तहमा महिलाको सहभागिता गराउनु जरुरी छ । यो माग मैले बारम्बार राख्दै आएको छु र आज पनि राख्दछु ।” त्यसैगरी उहाँले पार्टीभित्र अनुशासन अति जरुरी रहेको पनि बताउनुभयो ।
पार्टीको प्राण भनेको अनुशासन हो भन्दै उहाँले गएको संसदीय निर्वाचनमा पनि पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसका कैयौँ उम्मेदबारले झिनो मतान्तरले निर्वाचन हारेको वास्तविकता बुझेर पार्टीमा अनुशासन कायम गर्नेतर्फ सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।