
नेपालगन्ज, २५ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामलिला मैदान नजिक रहेको वेस्ट जोन ई.मि. हाई स्कूलले आफ्नो विद्यार्थीहरुको कान परीक्षण शिविरको आयोजना गरेको छ ।
वेस्ट जोड ई.मि. हाई स्कूलले आज शुक्रबार आयोजना गरेको कान परीक्षण शिविरमा ३५० जना विद्यार्थीहरुको कान परीक्षण गरिएको छ । जस मध्ये छात्रा १८० जना रहेका छन् भने छात्र १७० जना गरी जम्मा ३५० जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराउनुभयो ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सहायक चिकित्सक भीषण थारु, दामोदर थारु लगायतको सहभागिता रहेको जानकारी गराउँदै चेकजाँच गरिएको विद्यार्थीहरु मध्ये ७ जना विद्यार्थीहरुमा कान पक्ने समस्या रहेको बताईएको छ ।
आउटरिच इन्चार्ज भीषण थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हालसम्म जिल्लाका विभिन्न स्थानमा कान परीक्षण शिविरको आयोजना गरिनुका साथै जिल्ला बाहिर समेत यस्तो खाले शिविरको आयोजना गर्दै आएकोमा विगत १ वर्षदेखि विभिन्न विद्यालयहरुमा समेत शिविरको आयोजना गर्दै आईरहेको बताए ।
सुदुर तथा मध्यपश्चिमाञ्चलको एक मात्र कान अस्पतालको रुपमा रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले गणस्तरीय सेवा प्रदान गर्दै आउनुका साथै आवश्यकता अनुसार बेला बखत निःशुल्क प्राविधिक सहयोगसहित शिविरको आयोजना गर्दै आईरहेको छ ।