Sunday, February 9सत्यम खबर
Shadow

चिनियॅा कम्पनीले ठेक्का हड्पेर काम नगरेपछी एडीवी अन्तर्गतका सडक बन्न सकेन, वेईजिङसम्म पुग्यो कुरा!

काठमाण्डौ, २० साउन – २०७५ चैत ८ मा स्तरोन्नति थालिएको नारायणगढ–बुटवल सडकको प्रगति अहिलेसम्म ५२.५ प्रतिशत पुगेको छ । ११३ किलोमिटर सडक मध्ये ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिसलेन, दाउन्नेमा १४ किमि ३ लेन, ६४ वटा पूल, ४ सय ६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।

जसअनुसार अहिलेसम्म २६.५ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र, ४२ वटा पुल, ३ सय ८० वटा कल्भर्ट निर्माण गरिएको छ । निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनी पत्र दिइसकिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए ।

यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जुन कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको आजको कान्तिपुरले लेखेको छ । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । अहिलेसम्म काम सकिएको छैन । पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम नसकेपछि ठेक्का लिने कम्पनीको केन्द्रीय कार्यालय चीनमा समेत के कति कारणले काममा ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ भनी जवाफदेही बन्न र प्रतिबद्धता पेस गर्न पत्राचार गरिएको आयोजना प्रमुख ढकालले जनाए ।

‘दाउन्ने खण्डमा १४ किमि ३ लेन सडक मात्र भएको र १ सय १२ वटा कल्भर्ट बनाउनुपर्ने भएकाले यातायात सुचारु गर्न कठिन छ,’ उनले भने, ‘अन्यत्र नियमित मर्मत संभार गर्न, पानी छर्कन जिल्ला प्रशासन र ट्राफिक प्रहरीको सहयोग लिइएको छ ।’ अन्यत्रको खण्डमा छिटो सम्पन्न गर्ने गरी प्रयास भइरहेको उनको भनाइ छ । । सुरु ठेक्काअनुसार ०७९ साउन २२ भित्र यसको काम सकिसक्नुपर्ने हो । यो समयभित्र काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यो अवधिमा पनि काम नसकिएपछि केही दिनअघि तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थपिएको आयोजनाले जनायो ।

‘अब थपिएको समयभित्र काम सक्नुपर्छ,’ उनले भने । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । यता मुग्लिङ–पोखरा सडकको प्रगति पनि सोचेअनुरुप छैन । यसलाई पनि दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पृथ्वी राजमार्गमा पर्ने उक्त सडक खण्ड स्तरोन्नतिको काम थालेको तीन वर्ष भयो ।

आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । जसको ठेक्का ०७७/७८ मा भएको हो । आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ । जसको समग्रमा भौतिक प्रगति ४७ प्रतिशत छ । मुग्लिङ–आँबुखैरेनी खण्डको ९ किमिमा अझै ठेक्का लाग्न सकेको छैन । आँबुखैरेनी–जामुने खण्डमा ६५ प्रतिशत र जामुने–पोखरा खण्डमा अहिलेसम्म ३० प्रतिशत भौतिक प्रगति छ । आँबुखैरेनी–जामुने खण्डको सुरु म्याद ०८१ वैशाखसम्म थियो । अहिले म्याद थप गरेर असोजसम्म पुर्‍याइएको छ ।

जामुने–पोखरा खण्डको म्याद ०८१ भदौ १२ सम्म मात्र छ । पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो । यसको दूरी ४१.४५ किमि छ । दोस्रो खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । आयोजना प्रमुख ढकालका अनुसार कुल दूरी ८०.३३ किमिमध्ये ३२ किमि ४ लेन, २१ किमि दुई लेनमा कालोपत्र भएको छ । उक्त सडक ६०.२४ किमि दुई लेन, २०.०९ किमि ४ लेनसहित दुईतर्फ गरेर ६/६ लेनको सर्भिस लेन बन्ने छ ।

२९ वटा पुल, २ सय ८१ वटा कर्ल्भट, नाला लगायतका संरचना निर्माण गरिने आयोजनाले जनायो । अर्को सवारी चाप हुने सडक हो, कमला–कञ्चनपुर । यो सडक खण्डको स्तरोन्नति गर्ने भन्दै ०७७ कात्तिक १३ मा ठेक्का भएको हो । सम्झौताअनुसार निर्माण कार्य ०८० कात्तिक ११ भित्र सक्नुपर्ने भए पनि उक्त समयमा नसकिएपछि ०८१ माघसम्मका लागि म्याद थपिएको छ । यसलाई दुई खण्डमा विभाजन गरेर निर्माणको जिम्मा लगाइएको छ, जसको दूरी ८६.८२ किमि छ । दुवै खण्डको ठेक्का रकम १५ अर्ब ६६ करोड रुपैयाँ हो ।

एडीबीको ऋण सहयोगमा निर्माण थालिएको यो सडक निर्माणको जिम्मा चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले लिएको हो । कञ्चनपुर–कमला सडकको पूर्वी खण्ड ३९.४२ किमि र पश्चिम खण्डको ३६.९९ किमि छ । जसअनुसार अहिलेसम्म पूर्वी खण्डमा ४८ र पश्चिम खण्डमा ५३ प्रतिशत प्रगति छ । आयोजना प्रमुख ढकालका अनुसार ८६.८२ किमि मध्ये ७०.३३ किमि दुई लेन, १६.५० किमि चार लेनसहित दुईतर्फ ६/६ मिटरको सर्भिस लेन, ५४ वटा मुख्य पुल, २ सय १८ कर्ल्भट लगायत संरचना निर्माण गर्नुपर्नेछ ।

जसअनुसार अहिलेसम्म ५५ किमि दुई लेन सडक कालोपत्र, ३१ किमि असफाल्ट क्रंकिट, २५ वटा मुख्य पुलहरुको डेक स्ल्याब कास्टिङ सम्पन्न भइसकेको छ । त्यस्तै २ सय १२ वटा कल्भर्ट निर्माणको काम पनि सकिएको आयोजनाले जनाएको छ । ‘सबै आयोजनाहरुमा पहिलाभन्दा अहिले कामको प्रगति बढेको छ, तर पनि सन्तोषजनक छैन,’ आयोजना प्रमुख ढकालले भने, ‘सबैतिर छिटो काम सक्न दबाब दिएका छौं, सबैलाई ताकेता गरिरहेका छौं ।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *