
काठमाण्डौ, ९ श्रावण – कैलालीकोे धनगढीमा अस्पताल चलाउने भनी झुक्याएर चर्च सञ्चालन गरिएको पाइएको छ । लेट मेइन धनगढी प्रालि नामक संस्था खोलेर अस्पताल, व्यवसाय सञ्चालन गर्ने भन्दै नक्सा पास तथा व्यवसाय दर्ता गरेर चर्च सञ्चालन गरिएको हो।
प्रभाकर भण्डारीको साढे चार कट्ठा जग्गा वार्षिक ३ लाख भाडा दिने गरी लिजमा लिएर निर्माण गरी अस्पताल चलाउने भन्दै भवन बनाइएको थियो। तर, अहिले कोरियन मिसनरीको सहयोगमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो।
मनेहराका वडाअध्यक्ष मोति रानाले स्थानीयले चर्च बन्न लागेको गुनासो गरेपछि संस्था सञ्चालकसँग बुझ्दा व्यवसाय चलाउन भवन बनाउन लागेको जवाफ मिलेको बताए।
यसरी झुक्याएर चर्च चलाइएपछि कारबाहीको माग गर्दै संसदमा आवाज उठेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए । उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाएको बताए । उनले स्थानीय तहमा गएर झुटो विवरण पेस गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने बताए ।
‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो । पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन् । धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन । झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन,’ मंगलबार संसदमा उनले भने।
शाहीले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे। नेपाल पाना