Friday, March 21सत्यम खबर
Shadow

जाने होइन सन्तानेश्वर यात्रामा….

नेपालगन्ज, ९ साउन – नेपालगन्जदेखि करीब ३८ किलोमिटरको दुरीमा रहेको धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनामा आराध्य देव भगवान भोले बाबाको पुजा आराधना गर्न जाने होइन त ? अहिले साउन शुरु भएदेखि सन्तानेश्वर महादेव मन्दिरमा आस्थावान श्रद्धालुहरुको भिड लागेको छ ।

नेपालगन्जदेखि ३० किलोमिटरमा रहेको मटेहियाका बिनय दिक्षितले आफ्नो सार्वजनिक सञ्जाल प्रयोग गर्दै फेसबुक वालमा एउटा स्टाटस नै लेख्न भ्याएका छन् । उनले सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनामा हुन लागेको बृहत भण्डार तथा धार्मिक यात्रालाई आर्थिक सहयोग गर्न चाहने श्रद्धालु भक्तजनहरुलाई सहज होस भनी बैंक डिटेल तथा क्युआर कोड समेत जारी गरेका छन् ।

सञ्चारकर्मी समेत रहेका दिक्षितले यस अगावै पनि पटक पटक सन्तानेश्वर महादेव मन्दिरमा विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । उनले नेपालगन्जबाट जो–कोहीलाई पनि उक्त धार्मिक यात्रा गर्न सहज होस भनी अगुवाई गर्दै आएको बताउँछन् ।

गएको सोमबार मात्रै हेर्ने हो भने सन्तानेश्वर महादेव मन्दिरमा आस्थावान धार्मिक श्रद्धालुहरुको बाक्लो चहलपहल सुरु भएको छ ।
सन्तानेश्वर महादेव मन्दिर पुग्न नेपालगन्जदेखि ३८ किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर पहाडको उकालो पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

सोमबार भगवान भोले बाबा सन्तानेश्वर मन्दिरमा पूजा आराधना गर्नेको भीड लाग्ने गरेको सहभागी भक्तहरुको भनाई रहेको छ । सन्तानेश्वर मन्दिरका मुख्य पुजारी योगानन्द गिरीले दिएको जानकारी अनुसार सोमबार मित्र राष्ट्र भारतको विभिन्न स्थान तथा बाँके, बर्दिया, दाङलगायतबाट पनि श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको सन्तानेश्वर मन्दिर पुग्न सडक सहज नहुँदा समस्या भएकोे विश्व हिन्दु परिषद नरैनापुरका अध्यक्ष प्रमोदकुमार शर्मा बताउँछन् ।

सन्तानेश्वर मन्दिर पहाडको माथिल्लो भागमा रहेको तथा मन्दिरको टुप्पाबाट देखिने दृश्य मनमोहक हुनुका साथै प्राकृतिप्रेमीहरुको प्रमुख गन्तब्य हुन सक्ने अध्यक्ष शर्माले बताए ।
अध्यक्ष शर्माले दिएको जानकारी अनुसार विगत ४–५ वर्षको अथक प्रयासले हाल सन्तानेश्वर मन्दिर आउने जाने श्रद्धालुहरुको लागि थोरै सहज भएपनि यस क्षेत्रका जनप्रतिनिधिहरुले ध्यान केन्द्रित गर्न सके धार्मिक पर्यकटीय स्थल कै रुपमा देशमा चिनाउन सकिने बताउँदै मन्दिर सम्म पुग्न बाटो निर्माण तर्फ सहकार्य गर्न केन्द्र, प्रदेश तथा स्थानीय सरकारको समेत ध्यान जानु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *