Tuesday, October 22सत्यम खबर
Shadow

पूर्वराज्यमन्त्री रायको बर्बर हत्या: सर्लाहीमा शोक र आक्रोश, अभियानले निकाल्यो बिज्ञप्त

सर्लाही, ७ श्रावण – सर्लाहीको रतनपुरमा आइतबार राति पूर्वराज्यमन्त्री रामचन्द्र रायको घरमै हत्या भएको छ। रायको घरमै धारिलो हतियार प्रयोग गरी उनको निर्मम हत्या गरिएको हो।

रायको रगतले लतपतिएको शव देखेपछि स्थानीय बासिन्दाहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। रायको साथमा रहेका रामउजैन रायका अनुसार, राति तीन जना अपरिचित व्यक्ति उनलाई भेट्न आएका थिए र उनीहरूसँगै सुतेका थिए। हत्यापश्चात उनीहरू फरार भएको रामउजैनले बताए।


प्रहरीले घटनास्थल नजिकैको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, यही हतियारले रायको हत्या गरिएको छ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयका अधिकारीहरू घटना स्थलमा पुगेका थिए। प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटना बारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। उनले भने, ‘गए राति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ। अहिले केही भन्न सक्ने अवस्था छैन, हामी गहिरो अनुसन्धान गरिरहेका छौं।’
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्री कालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए। राप्रपाका गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार समेत रहेका रायले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु। निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस्।’

रायका तीन दाजुभाइ मध्ये माइलो रहेका रायको एक श्रीमती, दुई छोरा र पाँच छोरी छन्।

राष्ट्रिय एकता अभियानका संरक्षकका रूपमा रहेका रायको हत्या सँगै शोक तथा आक्रोश छाएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा हिंन्दुबादी नेता बिनय यादबले जारी गरेको प्रेस विज्ञप्तिमा रायको हत्यालाई कडा शब्दमा निन्दा गर्दै हत्यारालाई शीघ्र पक्राउ गरी कडा कानुनी कार्यवाहीको माग गरिएको छ। साथै, शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना गरिएको छ।

यस बर्बर घटनाले सर्लाहीवासीलाई झकझक्याएको छ र न्यायका लागि संघर्ष गर्ने प्रेरणा दिएको छ। सम्पूर्ण सरोकारवालालाई घटनाको सत्यतथ्य पत्ता लगाउन सकृय रहन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *