
नेपालगन्ज, २१ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक वर्ष २०८१/०८२ को लागि वडाको योजना तथा कार्यक्रम छनौट सम्बन्धी वडा भेला कार्यक्रम आज सम्पन्न भएको छ ।
वडा भेलामा नेपालगन्ग उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, सचिव मदनबहादुर रावत, वडा सदस्य तथा कार्यपालिका सदस्य संगीता रेग्मी, सदस्य जमालुद्दिन बागवान, महिला सदस्य भूमि दामिनी, शहरी स्वास्थ्य केन्द्र प्रमुख, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
वडाको बृहत विकासका लागि सम्पूर्ण राजनीतिक दलका जनप्रतिनिधिहरुले चुनावमा मुद्दा लिएर वडाबासीहरु कहाँ घरदैलो गर्न पुग्ने तर चुनाव पछि वडाबासीहरुको समस्या समाधान गर्न एकै स्थानमा नआउनुले समस्या समाधान नभएको भनाई राख्दै बृहत विकासका लागि सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुले समस्या समाधान गर्न एकै ठाउँमा भएर मात्र समस्या समाधान हुन सक्ने चन्द्रेश्वरराज त्रिपाठीले बताएका थिए ।

यसैगरी वडा भेला तथा योजना कार्यक्रममा नेपाली काँग्रेसका दिलीप रेग्मीले वडाको विकासका निम्ति पहिलो प्राथमिकतामा राखी फुल्टेक्रा तलाउ संरक्षणको लागि माटो तथा बिरुवा रोपन तत्काल सुरु गर्नुका साथै शुद्ध खानेपानीको अभाव वर्षेनी बढ्दै जाने भएको हुँदा सबै ठाउँमा खानेपानीको पाइपको लागि पहल गर्नुपर्ने बताएका छन् ।
रेग्मीले १३ बुँदा योजना प्रस्तुत गरेका थिए । जसमा ६ नं. वडा भेला तथा योजनाहरुमा ठाउँ ठाउँमा लागेका समर सेबलका कारण वरिपरि पानीको अभाव हुने गरेकोले त्यसमा रोक लगाउने, फुल्टेक्रा बिद्यालयको बाउन्ड्री बालको ब्यवस्था मिलाउनुको साथै छुट्टै गेम शिक्षकको ब्यवस्था मिलाउने, बनी सकेका नालीहरुमा अनिवार्य ढक्कनको ब्यवस्थाका साथै नाली नभएको स्थानमा नाली निर्माणको ब्यबस्था, बाटो ग्राभेलिङ्ग गर्दा माटो फिलिङ्ग गर्ने ब्यवस्था जसले गर्दा अर्को वर्ष त्यहाँ ग्राभेल हाल्न नपरोस्, वडाको सडक छेउमा सम्भव भएसम्म रुख रोप्ने जनचेतना मुलक काम गर्नुका साथै अब बन्ने नयाँ बाटोहरुमा अनिवार्य बृक्षा रोपन गर्ने ब्यवस्था मिलाउन, सहरी स्वास्थ केन्द्रमा एउटा हलको ब्यवस्था गर्नुको साथै कर्मचारीको थप ब्यवस्था मिलाउन पहल गर्ने, वडामा सबै बिद्याका बालबालिकाको लागि क्लब गठन गर्ने, वडाबाट हुने नागरिकका कामहरु छिटो छरितो गरिनु पर्ने, हडिया बाबा आश्रम परिषरमा सरसफाइको विशेष ब्यवस्थापन र सौन्दर्यकरणका साथै बस्ने ब्यवस्थाको उचित प्रबन्ध मिलाउने एवम् हनुमान मन्दिर छेउमा रहेको गोल घरको जिर्णोद्धारका साथै सामुहिक हनुमान चालिसा पाठको लागि ट्रष्टको ब्यवस्था गर्ने, वडामा पोलको बत्ती ब्यवस्थापनमा तदारुकता देखाउनुको साथै पालै पालो सबै टोलमा सुइपर पुग्ने ब्यवस्था मिलाउने, रामनगरमा रहेको सानो ताल र छेउमा रहेको जमिनमा मिनिपार्क बनाउन पहल गर्नुपर्ने, वडामा एउटा सार्वजनिक तथा योगा हलको ब्यवस्था अनिवार्य गर्ने, हडिया बाबा मोडदेखि फुल्टेक्रा सम्मको बाटो हालसम्म पिच नभएको हुँदा उपमहानगर भित्र रहेको उक्त बाटो दुबैतर्फ नालासहित पिच गर्न पहल गर्ने, अपा· भएकाहरुको लागि बजेट बिनियोजित गरी वडाबाटै अपाङ्गमैत्री सेवाहरुको पहल गर्ने, वडाबाट भए गरेका कार्यहरुको जानकारीका लागि विगत झै अब आउने आर्थिक वर्षमा त्रैमासिक रुपमा बुलेटिन प्रकाशित गर्ने लगायत योजनाहरु प्रस्तुत गरिएको थियो ।
६ नं. वडा कार्यालय निर्माणको लागि समाजसेवी माधवराम बर्माद्वारा शिव पार्वती मन्दिर संरक्षण समितिको ५ कठ्ठा बढी जग्गा वडा कार्यालयलाई लिजमा दिईएको तथा सो जग्गामा अब आउने बजेटबाट भवन निर्माण थालनीको लागि बजेट बिनियोजित गर्ने योजना समेत राखिने बताईएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न वडा भेला तथा योजना कार्यक्रमको सञ्चालन वडा नं. ६ का वडा सचिव मदनबहादुर रावतले गरेका थिए ।