
काठमाण्डौ, १६ असार – चिनियाँ युवासँग विवाहको बहानामा चीन पुर्याएर मानव तस्करी हुने गरेको छ। विभिन्न प्रलोभन देखाएर चिनियाँ युवकसँग विवाह गराउने र मोटो रकम असुल गर्ने गिरोह नै काठमाडौंमा सक्रिय रहेको पाइएको छ।
यसरी गिरोह नै सक्रिय देखिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो एजेण्टहरुलाई पक्राउ गर्न थालेको छ। ब्यूरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी हिरासतमा राखेको छ।
एसपी गौतम मिश्रका अनुसार राईले फेसबुकको मेसेन्जरमार्फत एक जना महिलासँग कुराकानी गरी विवाह गरी चीन आउन प्रस्ताव राखेकी थिइन्। विवाहका लागि तयार भएका धनी चिनियाँ पुरूषलाई चिनेको भनेर प्रलोभनमा पारी ती महिलालाई विवाह गर्न राजी बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

राजी भएसँगै उनले ती महिलालाई काठमाडौंको ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएका थिए।
०८० फागुन १० गते ती महिलालाई भिजिट भिसामा चीन पुर्याएको पाइएको थियो। चीन पुगेपछि भने ती महिला चिनियाँ नागरिकको घरमा बन्धकमा परेकी थिइन्। शारिरीक र मानसिक यातना दिएर पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ। असार ९ गते उद्धार गरी नेपाल फर्काइएपछि एजेण्टलाई पक्राउ गरिएको हो।
यसरी नै नेपाली युवती विक्री गर्नेलाई प्रहरीले जेठमा पक्राउ गरेको थियो। चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि प्रहरीले नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेलाई पक्राउ गरेको थियो। नेपाल पाना