नेपालगन्ज, ३२ जेठ – बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबार देखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुदैछ ।
कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगन्जको धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ । असारको १३ गते सम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ९ क्लबको सहभागिता रहेको छ ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उपविजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
दुइ साता अघि बाँके जिल्ला फुटबल संघले कोहलपुरमै जिल्ला स्तरीय (बि डिभिजन) नकआउट फुटबल प्रतियोगिता गरेको थियो । शनिबारबाट हुने जिल्ला लिग फुटबलले बाँके जिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।
लिग कम नकआउटका आधारमा सेमिफाइनल हुँदै फाइनलमा जित हासिल गर्ने टोली जिल्लाको लिग च्याम्पियन बन्ने छ ।
नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माण कार्य चलिरहेकोले कोहलपुरमा प्रतियोगिता आयोजना गर्न परेको आयोजकले बताएको छ । सुरुआतमा नेपालगन्जमा आयोजना गर्ने तयारी भएपनि अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नु परेको अध्यक्ष शाहीले बताउनु भयो ।
शनिबार बेलुका कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष शाहीले बताउनु भयो ।