
नरैनापुर, २७ जेठ – भ्रष्टाचार र ठगीको अर्को नाम नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । केही दिन अगाडी मात्र शिक्षामा माफियाहरुको हाबी रहेको समाचार सत्यमखबर मार्फत प्रशारण गरिएको थियो । आज सोही शिक्षामा आबद्ध सज्जाक खाँको नाम पुनः सौर्य ऊर्जा सोलार प्यानलमा समेत मुछिएको छ ।
सज्जाक खाँको भाईले आफ्नो वार्डबाट सोलार प्यानल वापत ५ हजारका दरले स्थानीयहरुसित पैसा संकलन गरी ठगी गरेका छन् । संधै विवादित कुराले गर्दा चर्चामा आईरहने बाँकेको नरैनापुर गाउँपालिका भ्रष्टाचारको अर्को एउटा घटना सार्वजनिक भएको छ । सो घटना ५ वर्ष अगाडी कै भएपनि हाल बृहत चर्चा हुन थालेको छ पीडितले न्याय नपाएपछि । गाउँपालिकाले सौर्य ऊर्जा उपलब्ध गराई दिने भन्दै पालिका भित्र १ हजार भन्दा बढी स्थानीयहरुसँग जनही ५०००।– को दरले पैसा ठगी गरेको पीडितहरुले बताएका छन् ।

गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा ६ वटै वार्डबाट ५० लाख बढीको रकम संकलन भएको तर ६०० जनाले सौर्य ऊर्जा र पैसा दुबै नपाएको ठगी पीडितहरुको गुनासो रहेको छ । गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा वडा नं. १ मा जलालू खाँ, आरिफ अन्सारी, वडा नं. ३ मा मुस्ताक साई, वडा नं. ४ मा चाँदे खाँ, वडा नं. ५ मा कमसर खाँ, अधिकारी भन्ने ईसहाक खाँ, वसिम खाँ लगायतले सौर्य ऊर्जा दिने प्रलोभन देखाएर रकम ठगी गरेको पाईएको छ ।
रकम संकलन गरेको ५ वर्ष बढी हुन लागेको भएपनि झण्डै ५०० जनाले हालसम्म सौर्य ऊर्जा र पैसा केही नपाएको गुनासो गरेका छन् । केही व्यक्तिहरुले पहिलो लटमा सौर्य ऊर्जा पाएपनि नेपाल सरकारको अनुदान अन्तर्गत उपलब्ध भएको सोलार प्यानलमा पनि जनता ५००० पैसा लिएर ठगी गरिएको पाईएको छ ।

सोलार र पैसा दुबै नपाएका व्यक्तिहरु पैसा उठाउने एजेन्ट कहाँ मांग्न जाँदा गाउँपालिका प्रमुख शाहलाई पैसा बुझाईसकेको र प्रमुखलाई भेट्न जाँदा मलाई पैसा दिएको प्रमाण के छ भन्दै थर्काउने गरेको पीडितहरुको भनाई रहेको छ ।
नपुरैनापुर गाउँपालिका वडा नं. १ सुईयाका स्थानीयहरुको भनाई अनुसार जलालु खानलाई ५ हजारका दरले रकम बुझाएको बताएका छन् भने यसबारे जलालु खानलाई भेट्ने उनले १ सय ५६ जनाको रकम ५ हजारका दरले बुझी नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई बुझाएको बताएका छन् ।

पीडितहरुबाट पैसा उठाएर सौर्य ऊर्जा उपलब्ध गराउन खटाईएका स्थानीय एजेन्ट जलालु खानका अनुसार गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा पैसा संकलन गरेर उनलाई नै बुझाईसकेको भएतापनि पीडितहरुले सोलार प्यानल नपाएर प्रमुख शाहलाई जानकारी गराउँदा उनले १–२ महिना भित्र पीडितले सोलार प्यानल वा पैसा पाउने जानकारी गराएका छन् ।
यसैगरी नरैनापुर गाउँपालिकाबाट खटाईएका एजेन्ट कमसर खाँले समेत पैसा संकलन गरी पालिका प्रमुखलाई बुझाएको बताएका छन् । खाँले दिएको जानकारी अनुसार यस बारे हामीले चासोका साथ छलफल गरिरहेका छौं, पीडितलाई न्याय दिन लागि परेका छौं, १०–१५ दिन भित्र समस्या समाधान हुने गरी पीडितलाई पैसा बुझाउने बताउनुभयो ।

यस बारे स्थानीय प्रहरीसँग बुझ्दा पटक पटक गाउँपालिकासँग विवाद समाधान गर्न प्रयास गरेको बताएपनि समाधान हुन नसकेको र अब पीडितहरु कानुनी प्रक्रियामा जान बाध्य भएको बताएका छन् । नरैनापुर गाउँपालिका भोजभगवानपुर ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यो विषय कुनै एउटा व्यक्तिको मात्र नभई पुरै पालिकाको भएको हुँदा यस बारे विगतमा नै चर्चा गरिएको थियो तर राजनीतिक विषय भएको हुँदा सोको समाधान पनि राजनीतिक तवरले गर्ने प्रतिबद्धता आएको हुँदा तथा यसबारे कुनै जाहेर समेत दर्ता भएको हुँदा हामी कानुन प्रक्रियामा नगएको बताएका छन् ।
नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहलाई फोन गर्दा फोन अप रहेको हुँदा सम्पर्क हुन सकेन ।