Thursday, February 13सत्यम खबर
Shadow

भारतीय विद्यार्थीको नेपाल साइनो

काठमाण्डौ, २५ जेठ – भारतमा पुरातत्त्व अध्ययन गरिरहेका विद्यार्थीहरू केही समयअघि लुम्बिनी, तौलिहवा र तिलौराकोटका सांस्कृतिक सम्पदाबारे अध्ययन र अनुसन्धानमा सक्रिए भए । अध्ययनपछि भारत फर्केका तीमध्ये अधिकांश विद्यार्थी नेपालको लोकल खाना र नेपालीको स्वागत सत्कार मिस गरिरहेको बताउँछन् ।

भारतको गुजरातस्थित द महाराजा सायाजीराव विश्वविद्यालय (एमएसयू) मा विद्यावारिधिकी शोधकर्ता २६ वर्षीया स्वाती बर्मा नेपालको हावापानी, स्थानीय बासिन्दा र यहाँका परिकार ‘मिस’ गरिरहेकी छन् । वनारस हिन्दु विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर पूरा गरेकी उनी गुजरातको बरोडास्थित विश्वविद्यालयमा राजस्थानको पुरापाषणकालीन पुरातात्त्विक अवस्थाबारे शोध गरिरहेकी छन् ।

भारतीय विद्यार्थीको नेपाल साइनो
बर्मा गत हिउँदमा कपिलवस्तुको तिलौराकोटमा सञ्चालित एकमहिने उत्खननमा सहभागी भएकी थिइन् । सरल स्वभावकी उनी नेपालको धनगढीनजिकै उत्तरप्रदेशकी बासिन्दा भएकाले नेपाली रहनसहनसित परिचित छन् ।

यतिबेला भारत र नेपालमा उधुम गर्मी छ । स्वाती भने तिलौराकोटमा बिताएको ‘विन्टर सिजन’ मिस गरिरहेको सुनाउँछिन् । ‘नेपालका मानिस नै स्पेसल लाग्यो,’ कान्तिपुरसित उनले भनिन्, ‘त्यहाँका गाउँले र साथीभाइको व्यवहारले फरक मुलुकको अनुभूति नै भएन ।’ कम बोल्ने र मुस्काइरहने उनले नेपालका लुम्बिनी बौद्ध र त्रिभुवन विश्वविद्यालयमा पुरातत्त्व विषयमा स्नातकोत्तर तह अध्ययन गरिरहेका छात्रछात्रालाई साथी बनाएको बताइन् । ‘धेरै जनासँग सामाजिक सञ्जालमार्फत कुराकानी हुन्छ,’ उनले भनिन्, ‘एक महिनामै घुलमिल भइयो, सम्झना आउँछ ।’

स्वातीले तिलौराकोट र तौलिहवामा पाइने ‘लोकल फुड’ले लोभ्याएको बताइन् । पानीपुरी, चाट, चटपट भारतमा पनि उपलब्ध हुन्छन् । उनले धेरै मिस गरिरहेको चाहिँ झोल मःमः हो । झोल मःमः को स्वाद जिब्रोबाट नहटेको उनले सुनाइन् । तिलौराकोटमा उत्खननका क्रममा आफ्नो व्यावहारिक ज्ञानको पाटो उकासिएको उनको भनाइ छ । दक्षिण एसियाकै व्यवस्थित र संरक्षित पुरातात्त्विक स्थलमा काम गरेर ज्ञानको दायरा बढाउन पाएकोमा खुसी व्यक्त गरिन् । ‘त्यो चिसो मौसम र न्यानो साथ सम्झिरहेकी छु,’ उनले भनिन्, ‘फेरि कतिखेर नेपाल जान पाउँछु भनेर सोचिरहेकी छु, साथीसँगै झोल मःमः सम्झिरहेकी छु ।’

विहारको दलहट्टा, मुंगेरका २८ वर्षीय आकाश पाण्डेय महाराजा सायाजीराव विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन् । दुई वर्षदेखि भारतको प्राचीन इतिहासमा शोध गरिरहेका छन् । गत माघमा उनी विश्वविद्यालयका अन्य साथीसँगै तिलौराकोटमा ‘फिल्ड स्कुल’का लागि आएका थिए । उनको घरबाट जनकपुर करिब २० किलोमिटरको दूरीमा छ । उनका बुवा साइकलमा जनकपुर आउजाउ गरिरहन्थे । बुवासँगै नेपाल आउजाउ गर्ने गरेकाले उनलाई यहाँको संस्कृतिबारे जानकारी छ । जसले उनलाई नेपाल र नेपालीसँग आत्मीय तुल्याउने गरेको छ । उनलाई नेपालको मूर्तिकलाबारे खुबै चासो छ । ‘नेपाल आउँदा घरकै जस्तो वातावरण हुन्छ,’ उनले भने, ‘सबैको एकनासको व्यवहारले खुसी तुल्याउँछ ।’ यहाँ उत्खननमा सहभागी उनले रूपन्देही र कपिलवस्तुस्थित ‘ग्रेटर लुम्बिनी’ अन्तर्गतका बुद्धस्थल भ्रमण गरे । ‘तिलौराकोट प्राकृतिक अवस्थामै छ,’ उनले भने, ‘यो गाउँजस्तै छ, खोज्नुपर्ने कुरा धेरै छन् ।’

त्यसबाहेक लुम्बिनीस्थित जर्मन र नेपाल विहारले उनलाई लोभ्यायो । यहाँ प्रदूषण छैन । २४ दिन यहाँ बसेर फर्किएका उनले लुम्बिनीमा धेरै समय बस्न मन रहेको बताए । अध्ययन सिलसिलामा फेरि आएर समय बिताउने उनको भनाइ छ । ‘नेपालमा स्नातकोत्तर तहमा मात्र पुरातत्त्व अध्ययन भइरहेको छ,’ उनले भने, ‘यसलाई स्नातक तहबाटै पढाउनुपर्छ ।’ यहाँका पुरातात्त्विक स्थल हेर्दा विद्यालय तहबाटै पुरातत्त्व र यसको महत्त्वबारे कोर्समा समेटनुपर्ने उनको सुझाव छ । ‘यसले यहाँको ज्ञात/अज्ञात संस्कृति बचाउन सहयोग पुग्छ,’ उनले भने, ‘स्थानीय बासिन्दालाई पनि पुरातत्त्व र संस्कृतिबारे जानकारी दिन जरुरी छ ।’ उनलाई काठमाडौं र पोखरा घुम्न मन छ । ‘अस्ति त हतारमा फर्किनुपर्‍यो,’ उनले भने, ‘फेरि घुम्न आउँछु ।’ आकाशले पुरापाषणकालमा मानवले प्रयोगमा ल्याएको ढुंगे प्रविधिको अध्ययन गरिरहेका छन् । उनले अहिले दक्षिण विहारको खण्डकपुर क्षेत्रमा आधारित भएर अध्ययनको काम गरिरहेका छन् । ‘आफ्नो संस्कृति बुझ्न जरुरी छ,’ उनले भने, ‘यो संस्कृति बचाएर भावी पुस्तालाई उपहार दिने विषय हो ।’ आकाशले सबैभन्दा बढी मिस गरिरहेको स्थानीय खाना हुन् । सेवा र झोल मःमः को स्वाद याद आइरहेको उनले बताए ।

भारतबाट एक दर्जन विद्यार्थी, पुरातत्त्व कर्मचारी र प्रोफेसर आएका थिए । उनीहरू विभिन्न विश्वविद्यालय र कार्यालयबाट आएका थिए । उनीहरू एकआपसमा परिचित थिएनन् । यहाँ आएपछि घनिष्ठ बने । यिनैमध्येका २८ वर्षीय श्रीसमर्थ इमानदार चुलबुले स्वभावका थिए । एमएसयूमा विद्यावारिधि अन्तिम वर्षका शोधकर्ता उनी कर्नाटकको बेलागाभी जिल्लामा जन्मिए पनि गुजरातको बरोडामै हुर्किए । २४ वर्षदेखि बरोडामै बसोबास भएका उनले पुरातत्त्वमै स्नातक र स्नातकोत्तर पूरा गरेका थिए । डेढ वर्ष गुजरातस्थित पुरातात्त्विक संग्रहालयमा निर्देशक पदमा कार्यरत थिए । सरकारी जागिर छाडेर भारतको उत्तर–पश्चिम राज्यमा पाइने प्राचीन माटाका भाडा (सेरामिक) मा विद्यावारिधि अध्ययन गर्न थाले ।

यसक्रममा जम्मु कश्मीर, पन्जाब, हरियाना, पश्चिम उत्तरप्रदेश, राजस्थान, गुजरात र पाकिस्तानको सिन्ध प्रान्तका विभिन्न ठाउँमा पुगेर सेरामिकबारे अध्ययन गरिसकेका छन् । ‘गत विन्टरमा पहिलो पटक नेपाल पुगेको हुँ,’ उनले भने, ‘यस पटक विश्वविद्यालयबाट छनोट भएर आएको थिए ।’ दक्षिण भारतमा जन्मिएका उनको यहाँ आउँदा दिमाग खाली थियो । ‘यहाँका मानिस आत्मीय रहेछन्,’ उनले भने, ‘सांस्कृतिक रूपमा भारतकै जस्तो रहेछ ।’ तिलौराकोट उत्खननमा सहभागी भएका उनलाई यहाँका पुरातात्त्विक स्थलले लोभ्याए । उनलाई लुम्बिनीस्थित मायादेवी मन्दिरले धेरै प्रभावित तुल्यायो । ‘जता गयो, उतै सम्पदास्थल,’ उनले भने, ‘स्थानीय बासिन्दाको सहकार्य पनि राम्रो लाग्यो ।’ यस्ता क्षेत्रमा स्वदेश/विदेशबाट विज्ञ आउँछन्/जान्छन् । तर, सम्पदालाई चिरकालसम्म स्थानीयले संरक्षण गर्ने भएकाले उनीहरूको भूमिकाको सराहना गर्नुपर्ने बताए । उनले पनि स्थानीय खाना भने बिर्सन सकेका छैनन् । ‘झोल मःमः, समोसा, पकौडा, चाट खुब सम्झिराछु,’ उनले भने, ‘अनि त्यहाँका मानिसको आत्मीयता पनि सम्झिरहेको छु ।’

एमएसयूमै विद्यावारिधि अन्तिम वर्षकी छात्रा ३४ वर्षीया निलीमा वासुदेवन फरासिलो स्वभावकी छन् । उनलाई धेरैले ‘दिदी’ भनेर सम्बोधन गर्थे । दक्षिण भारतको केरलकी बासिन्दा उनले स्नातक त्यहींबाट पूरा गरेकी थिइन् । मद्रास विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । दुई वर्ष भारतीय पुरातत्त्व समाजमा काम गरेकी उनी नर्थहिल विश्वविद्यालय मेघालयमा अतिथि लेक्चरको काम गरिन् । त्यसपछि विद्यावारिधि अध्ययन गर्न बरोडा पुगिन् । हाल उनले मेघालयको नवपाषणकालीन संस्कृतिबारे अध्ययन गरिरहेकी छन् । यस अवधिमा स्टोर जार अफ मेघालय प्रोजेक्ट पूरा गरिसकेकी छन् । गत हिउँदमा विश्वविद्यालयका सहपाठीसँगै नेपाल आएकी उनले नेपालका बासिन्दा र विद्यार्थी आत्मीय र सहयोगी रहेको बताइन् ।

चिसो भगाउन चियाको लत परेकी उनलाई तिलौराकोट नजिकै रामघाटको झुप्रोमा पाइने समोसा र पकौडाको स्वादले पछ्याइरहेको छ । सदरमुकाम तौलिहवास्थित एक होटलमा २४ दिन बिताउने क्रममा खोजीखोजी झोल मःमः खाएको याद आइरहेको उनी बताउँछिन् । ग्रेटर लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा उनले लुम्बिनीमा अल्लोका कपडा र ऊनका टोपी खरिद गरेकी थिइन् । ‘मलाई छुर्पीको याद आइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाट मगाउने सोचेकी छु ।’ भारत र नेपालको संस्कृतिमा अन्तर नरहेको जनाउँदै उनले कपिलवस्तुका बासिन्दाको न्यायो स्वागतले छिटो नेपाल आउन आतुर बनाएको बताइन् । ‘हामी पुरातत्त्वका विद्यार्थीका लागि कपिलवस्तु र लुम्बिनीमा सम्पदाको खानी छ,’ उनले भनिन्, ‘एक पटक परिवारसहित आउँछु ।’ कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *