Thursday, September 25सत्यम खबर
Shadow

भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने जसपाको तयारी

काठमाण्डौ, ३ कार्तिक – जनता समाजवादी पार्टीले नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ ।
आजदेखि सुरू हुने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेलगायत प्रस्तावमाथि छलफल हुँदैछ ।


‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाउने हो,’ जसपाका एक नेताले सेतोपाटीसँग भने, ‘आज र भोलि चल्ने बैठकले यसबारे छलफलपछि निर्णय गर्छ ।’
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेताका रूपमा छन् ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष छन् । उनीहरू केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहने र भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउन लागिएको जसपाले जनाएको छ ।
तुलसीलाल अमात्य प्रतिष्ठानमा आज केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । पार्टीका नेता केशव झाले दिएको जानकारी अनुसार पार्टीको विधान संशोधनलगायतका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको हो ।
‘बैठकमा विधान संशोधन, नियमावली, संघीय परिषद विस्तार, केन्द्रीय समिति विस्तार, कार्यकारिणी समितिको कार्यविभाजन र समायोजनलगायत एजेन्डामाथि छलफल हुन्छ,’ उनले भने ।
केन्द्रीय समिति आठ सय १ र संघीय परिषद एक हजार दुई सय एक सदस्यीय बनाउन लागिएको झाले जानकारी दिए ।
‘अहिले केन्द्रीय समिति सात सय एक र संघीय परिषद एक हजार एक सय एक सदस्यीय छ । अब एकरएक सय सदस्य थप गर्न लागेका हौं,’ उनले भने ।
गत असार २५ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो । गत वैशाख १० गते समाजवादी र राजपाबीच एकीकरण भएर जसपा पार्टी बनेको थियो । जसपामा वरिष्ठ नेताका रूपमा अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो छन् ।
पार्टी गठन भएको छ महिनामा पनि जसपाले नेताको व्यवस्थापन र केन्द्रीय तथा संघीय परिषदलाई पूर्णता दिन सकेको छैन ।
यस्तै प्रदेशदेखि तल्ला तहमा समायोजनका काम बाँकी छ । (सेतापाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *