
नेपालगन्ज, ३ कार्तिक – आइपिएलमा आइतबार राति मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जावबीच भएको खेल दुई पटक सुपर ओभरमा पुग्यो । सुरुमा स्कोर बराबरी भएपछि भएको सुपर ओभरमा पनि फेरि स्कोर बराबरी भएको थियो । दोस्रो सुपर ओभरमा भने पञ्जाव विजयी भयो ।
पहिलो ब्याटिङ गरेको मुम्बई इन्डियन्सले ६ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो । जवाफी ब्याटिङ गरेको पञ्जावले पनि २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन नै बटुल्यो ।
त्यसपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको पञ्जावले ५ रन जोडेको थियो । जवाफमा मुम्बई पनि ५ रनमै समेटिएपछि सुपर ओभर बराबरी भएको थियो ।

दोस्रो सुपर ओभरमा मुम्बईले पहिले ब्याटिङ ग¥यो । मुम्बईका केइरन पोलार्ड र हार्दिक पाण्ड्याले ब्याटिङ गर्दा पञ्जावका क्रिस जोर्डनले बलिङ गरेका थिए । जसमा मुम्बईले १ विकेटको क्षतिमा ११ रन जोड्यो ।
१२ रनको लक्ष्य पछ्याएको पञ्जावका लागि क्रिस गेल र मयंक अग्रवालले ब्याटिङ गरेका थिए । मुम्बईका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । जसमा गेलले पहिलो बलमा छक्का हिर्काउँदा दोस्रो बलमा एक रन लिए । तेस्रो र चौथो बलमा अग्रवालले लगातार चौका हिर्काउँदै पञ्जावलाई रोमाञ्चक जित दिलाए ।
त्यसअघि १७७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जावलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो । ब्याटिङमा पञ्जावका क्रिस जोर्डन र दीपक हूडा थिए । हुडा र जोर्डनले पहिलो पाँच बलमा ७ रन जोडेका थिए । अन्तिम बलमा जितका लागि २ रन चाहिएको थियो भने एक १ रन जोडेको अवस्थामा स्कोर बराबरी हुने स्थिति थियो । जसमा जोर्डनले १ रन लिन सके । दुई रन लिने क्रममा जोर्डन रनआउट भएपछि स्कोर बराबरी भएको थियो ।
स्कोर बराबरी हुनुअघि पञ्जावका लागि कप्तान केएल राहुलले ७७ रनो योगदान दिए । उनले ५१ बलमा ७ चौका र ३ छक्का हिर्काए । क्रिस गेल र निकोलास पूरनले २४–२४ रन जोडे । दीपक हूडा २३ रनमा नटआउट रहदा जोर्डन १३ बलमा रनआउट भए ।

बलिङमा मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए। उनले चार ओभरमा २३ रन खर्चिएका थिए । दीपक चाहरको नाममा २ विकेट रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि क्वान्टन डी ककले ५३ रनको योगदान दिए । क्रुनाल पाण्ड्याले ३४ रन बटुल्दा केइरान पोलार्डले पनि नटआउट ३४ रन जोडे । पोलार्डले १२ बलमा १ चौका र ४ छक्का हिर्काएका थिए । यस्तै कल्टर निलको नटआउट २४ रन पनि महत्वपूर्ण रह्यो ।
बलिङमा पञ्जावका मोहमद सामी र अर्शदीप सिंहले २–२ विकेट लिए ।
त्यसअघि दिनको पहिलो खेलमा कोलकता र हैदरावादबीचको खेलमा पनि स्कोर बराबरी भएको थियो । त्यसपछि भएको सुपर ओभरमा कोलकता विजयी भयो ।
सुपर ओभरमा पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको मुम्बईको ९ खेलबाट १२ अंक छ। शीर्ष स्थानको दिल्लीको समान खेलबाट १४ अंक छ । सुपर ओभरमा विजयी भएसँगै पञ्जाव ९ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।
आइपिएलमा आज सोमबार चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।