Wednesday, March 11सत्यम खबर
Shadow

“हिंउदे बर्षाले एकको ज्यान गयो,१५ करोडको क्षति”

बाँके,१२ माघ । शुक्रवार भएको हिउँदे बर्षातका कारण बाँकेमा ठुलै क्षति भएको छ । दिन भरिको बर्षातका कारण बाँकेमा ईट्टा व्यवसायीहरुलाई १५ करोड बढीकोे क्षति व्यहोर्नु परेको छ । सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले जानकारी दिएका छन ।
बेमौसमी बर्षातका कारणले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० ईट्टा व्यवसायीहरु लाई करिब सात करोड बढी काँचो ईट्टा काम नलाग्ने गरी नष्ट पारेको खानको भनाई छ । जसका कारण १४ करोड ४० लाखको क्षति ईट्टा व्यवसायीले व्यहोर्नु परेको उनी बताउँछन् । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म ईट्टा गलेर काम नलाग्ने भएको बाँकेका सुमन ईट्टा उद्योगका सञ्चालक फयाज अलीले बताए ।
ब्यवसायी अलीका अनुसार शुक्रबारको बर्षातले प्रत्येक ईट्टा व्यवसायीको १५ देखि २० लाखका दरले क्षती भएको अनुमान गरिएको छ । यो बर्षातमा सात करोड ईट्टा नष्ट भएकोले अर्को पटक ईट्टा उत्पादन नहुँदासम्म ईट्टा अभावको सम्भावना समेत हुने देखिएको व्यवसायीहरू बताउँछन् ।

ईट्टा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म ईट्टा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा छ देखि दश लाखसम्म इट्टा तयार पारिन्छ इट्टा व्यवसायी संघका कार्यालय सचिव सुर्यमणी पौडेलले भने, ‘यसपटक कुनै पनि उत्पादकले चार राउण्ड भन्दा बढी उत्पादन गर्न सकेका छैनन् ।’
ईट्टा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु पर्ने कारण विमा गर्न नपाउनु रहेको ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष खाँले बताए । काँचो ईट्टाको विमा हुँदैन, उनले भने ‘काँचोे ईट्टा बर्षाले क्षति भएपछि लगानी नै डुब्छ ।’ यसले यस बर्ष बाँकेमा ईट्टा उत्पादन कम हुने खाँले बताए ।
सरकारले २०७० असोजदेखि अनिवार्य रुपमा ईट्टाको कारोबारलाई मुल्य अभिबृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीहरुले भने, ‘सरकारले करको दायरामा ल्याएपनि व्यवसायिक सुरक्षाको प्रत्याभूति दिन सकेको छैन् ।


बर्षातले बाँकेका धेरैजसो ईट्टा उद्योगका काँचो ईट्टाहरू गलेर नष्ट भएका छन् । संघले काँचो ईट्टाको विमाको व्यवस्था मिलाउन सरकारसँग यसअघि नै माग गरेपनि अधिकाशं ईट्टाको अहिले पनि विमा हुन सकेको छैन् । आकस्मिक रूपमा हुने बर्षाको क्षतीबाट व्यवसायी चौपट नै हुने अवस्थाबाट बचाउन विमाको विकल्प नरहेको व्यवसायीहरू बताउँदै आएका छन् ।
चट्याङ्ग लागेर ज्यान गयो
खेतमा काम गर्न गएको बेला चट्याङ्ग लागेर नेपालगञ्जमा एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उममहानगरपालिकाको वडा नम्बर २३ जंगलीसिंह पुरवाका ३७ बर्षका लाल मोहम्मद दर्जीको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
दिउँसो साढे १ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा अपरान्ह पौने ३ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ । खेतमा काम गर्न गएका दर्जीलाई खेतमा चट्याङ्ग लागेर घाईते भई उपचारका क्रममा ज्यान गएको हो ।
गहुँबाली लाई फाइदा
हिँउदे बर्षाले ईट्टा ब्यवसायीलाई क्षति पुरयाएपनि किसानलाई भने फायदा पुगेको छ । बाँकेमा ठूलो क्षेत्रफल जग्गामा गहुँको खेती हुने गरेको छ । शुक्रबार पानीले गहुँलाई फाइदा पुर्याएको किसानहरुले बताएका छन् । तर, बजारमा मल उपलब्ध नहुँदा अपेक्षा अनुसार उत्पादन हुनेमा भने उनीहरुको आशंका छ ।
‘शुक्रबारको पानी गहुँका लागि राम्रो हो’, नरैनापुरका किसान केवलराम मौर्यले भने, ‘पानीले गहुँलाई फाइदा पुर्याएपनि त्यसमा हाल्न यूरिया मल छैन ।’ यद्यपि, निरन्तर बर्षा भैरहने हो भने त्यसले फाइदा भन्दा नोक्सान बढी पुर्याउने उनको भनाइ छ ।
कृषक मौर्यका अनुसार बेमौसमी पानीले अन्य बाली भने नोक्सान पुर्याउन सक्ने बताँउछन । ‘अत्याधिक बर्षा मसुरो, अरहर र तोरीका लागि ठिक होइन, उनले भने, ‘सामान्य बर्षाले राम्रो गरेपनि निरन्तर बर्षा भएमा हामीले चाहे अनुसार उत्पादन हुन सक्दैन ।’ बाँके बनकटीँका शिवकुमार बर्माले बर्षाले फुल लागेको अरहरमा भने क्षति पुर्याएको बताउँछन् । ‘झरीले कुनै बालीलाई फाइदा त कसैलाई क्षति पुर्याउँछ’, उनी भन्छन् ।
बाँकेका किसान गहुँको सिजनमा जिल्लामा मल नपाइएको गुनासो गर्दै आएका छन् । ‘धान उत्पादनका बेला धानका लागि र गहुँ उत्पादनका लागि गहुँका लागि प्रयोग हुने मल पाइँदैन’, बर्मा भन्छन, ‘कृषिलाई प्राथमिकता दिने सरकारको भनाइ व्यवहारमा देखिंदैन ।’
कृषि उत्पादनका लागि मल अत्यावश्यक भएपनि त्यसमा कसैले चासो नदिने गरेको शिवकुमारको भनाई छ । ‘सहकारी जाँदा मल छैन भन्ने जवाफ आउँछ, पाएपनि माग गरे जति दिइँदैन’, उनी भन्छन, ‘कम्तिमा स्थानीय तहले कृषिलाई प्रवद्र्धन गर्न मलको व्यवस्था गर्नुपर्छ ।’ कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई सहकारीमार्फत उपलब्ध गराउँदै आएको मल जिल्लामा एक महीनादेखि अभाव रहेको हो ।
मलको समस्या बाँकेमा मात्र नभई पश्चिम नेपालमा नै रहेको सम्बद्धहरु बताउँछन् । हिउँदे खेती गहुँमा मल हाल्ने मौसममा मल नपाउँदा किसान उत्पादन घट्ने चिन्तामा छन् । किसानका लागि आवश्यकताअनुसारको मल उपलब्ध गराउन आफूहरु लागे पनि नेपालमा भारतको कोलकाताबाट मल नआएकाले समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी बताउँछन् । बाँकेमा १९ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *