Monday, January 12सत्यम खबर
Shadow

उपत्यकाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरमार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह

काठमाण्डौ, १३ जेठ – वर्तमान युग विज्ञानको युगहो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ शहर र घर मात्र होइन, एक कोठामा सीमित गरि दिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरि दिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु सहजै लिइरहेका छन् ।
विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घर मै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ ।


“हेल्थ याद आयो” नामक नीजि क्षेत्रको संस्थाले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित पेप्सीकोला एपार्टमेन्टमा शनिवार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परिक्षण, दन्त चिकित्सा तथा ल्याव परिक्षण सेवामा पेप्सीकोला एपार्टमेन्टमा भित्र र आसपासका बासिन्दाले पाएका हुन् ।
विहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा पेप्सीकोला एपार्टमेन्टमा बसोवास गर्ने ८१ जना महिला तथा पुरुषले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए भने एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएका थिए ।
मोवाइल एप स्वास्थ्य सेवाको बारेमा सचेतना फैलाउने उद्देश्यले हरेक शनिवार उपत्यकाका भिभिन्न क्षेत्रमा शिविर सञ्चालन गर्न थालिएको आयोजक संस्थाले जनाएको छ ।
काठमाडौंको वी केयर हेल्थ सेन्टर र सूर्य डाइग्नोष्टिक ल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचापर दन्तरोगको परिक्षण निःशुल्क गरिए ता पनि विभिन्न किसिमका रोगहरुको लागि रगत तथा पिसाब संकलन र परिक्षणहरुभने तोकिएको दररेट भन्दा कम न्यूनतम शुल्क अर्थात् ६५ प्रतिशतसम्म छुट दिइएको थियो ।


पाँच वर्षको बालकदेखि ८५ वर्षका जेष्ठ नागरिकहरुले सेवा लिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक प्रवचन दिएका थिए भने “हेल्थयादआयो” का प्रवन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोवाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देश भित्र तथा वाह्य मुलुकका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसँग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धि जानकारी दिनु भएको थियो ।
एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो”का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थएपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एप कै माध्यमबाट सेवा ग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुखशहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसँग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एप कै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताउनु भयो ।


“हेल्थ याद आयो”का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगन्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।
शिविरमा “हेल्थ याद आयो”को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष श्रेष्ठ र सिमनप्रसाद लगायतले रगत संकलन तथा परामर्श सेवा दिएका थिए ।
सहकार्य गर्ने वी केयर हेल्थ सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा. आयुष्माध्वजु, डा. रोजिना जोशी, दिप्ती घिमीरे, श्रृष्टि राई, जानुका पराजुली, अस्तिमा श्रेष्ठ, सुरेन्द्र गौतम, प्रकाश अधिकारी, विशाल चौलागाईं, फुर्वा शेर्पा, सविना न्यौपाने, निरज मल्लले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिनु भएको थियो भने सूर्य डाइग्नोष्टिक ल्यावको तर्फबाट ल्याव टेक्नीसियन सभ्यता ढकालर अभिषेक लामाले रगत संकलन र परिक्षण सेवा उपलब्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *