नेपालगन्ज, ५ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–५ फुल्टेक्रा स्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १४ औं वार्षिक साधारण सभा आज बुधबार राम नवमीको दिन सम्पन्न भएको छ ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका सचिव प्रदीपकुमार शाहद्वारा सञ्चालित कार्यक्रममा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका अध्यक्ष बिमलकुमार टण्डनको अध्यक्षतामा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिष्टले १४औं वार्षिकोत्सव र नयाँ वर्ष २०८१ सालको सबैलाई शुभकामना दिंदै हस्पिटललाई उपमहानगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै यस हस्पिटलको गुणस्तरीय सेवाले गर्दा नेपाल र भारतमा नेपालगन्जको पहिचान बढेको छ अझै गुणस्तरीय सेवा बढदै जाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा कार्यसमितिका सदस्य अभिनाष चौधरीले स्वागत मन्तव्यबाट शुरु भएको १४ औं वार्षिक साधारण सभा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेतनारायण चौधरीले ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा स्थापना कालदेखि हालसम्म भए गरेका कार्यहरु बारे प्रकाश पानु भएको थियो ।
प्रबन्धक चौधरीले नेपाल सरकारमा पहिलो दर्ता भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हो, यस हस्पिटलमा २६ जना कर्मचारी कार्यरत रहेको जानकारी गराएका थिए । यसरी सो कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका अध्यक्ष बीरेन्द्रबाहदुर शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्रप्रकाश तिमिल्सिना लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा यस क्षेत्रमा आजको समयमा सबैभन्दा बढी रक्तदान गर्नुहुने पवन जायसवाललाई प्रमुख अतिथि प्रशान्त बिष्ट, हस्पिटलका अध्यक्ष बिमलकुमार टण्डन, बिशिष्ट अतिथि चन्द्रप्रकाश तिमिल्सिनाले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका कर्मचारी, कार्य समितिका पदाधिकारी र आजीवन सदस्यहरुको सहभागिता रहेको थियो ।