Friday, February 7सत्यम खबर
Shadow

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज, ४ चैत – बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका नगर कार्यालय मगरागाडी आयुर्वेद औषधालय जयनगर बर्दियाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
बारबर्दिया नगरपालिका–३ रामपुरको वर्थिङ सेन्टरमा भएको आयुर्वेद विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख छविलाल थारु, विशिष्ट अतिथिको रुपमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले आयुर्वेद स्वास्थ्य सेवाको बारेमा बताउनु भएको थियो ।


वडा नम्बर ३ अध्यक्ष नन्दलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास संयोजक श्यामकुमारी चौधरी, विशिष्ट अतिथिको रुपमा नेपालगन्ज हेल्थ क्याम्पसका प्रमुख प्रभाकर मिश्र सहभागि हुनु भएको थियो ।
शिविरमा आएका बिरामीहरुको आयुर्वेद चिकित्सकहरु डा. शिवराज सुवेदी, डा. मनोजकुमार यादवलगायतको टिमले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले नगरका सम्पुर्ण स्थानीयहरुलाई आयुर्वेदको सेवाबाट विभिन्न रुपमा जटिल तथा नसर्ने रोगको व्यवस्थापनमा महत्वपुर्ण भुमिका हुने तथा आगामी दिनमा अझै प्रभावकारी रुपमा सबै वडाहरुमा आयुर्वेदको सेवा पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।


संविधान सभा सदस्य वाल्मिकीले नेपालगन्ज जनरल अस्पतालले बाँके र बर्दियाका विभिन्न स्थानीयतहसँग समन्वय गरेर आयुर्वेदको विशिष्टकृत सेवा दिन तयार रहेको तथा आयुर्वेद स्वास्थ्य सेवाबाट जनसमुदायमा कसरी स्वस्थ जीवनशैली अपनाउन अस्पतालले के–के सहयोग गर्न सक्छ भन्ने बारेमा आवश्यक सहयोग गर्ने बताउनु भयो ।
स्वास्थ्य शिविरको उद्घाटन समारोहमा नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको प्रशासन प्रमुख पदमा थापा, संजय मल्ल, रजक अलि अन्सारी, मगरागाडी आयुर्वेद औषधालयका वरिष्ट वैद्य कमलेश पासवानको पनि सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय ५० भन्दाबढी बिरामीको परिक्षण गरिएको प्रशासन प्रमुख थापाले बताउनु भयो ।


शिविरमा पाईल्स, फिस्टुला, भगन्दर, वातव्याधी, महिला सम्बन्धी सम्पुर्ण रोगहरु, जेष्ठ नागरिक सेवा, स्तनपाई कार्यक्रम तथा जनरल आयुर्वेद सम्बन्धी सम्पुर्ण रोगहरुको सेवा दिइएको डा. शिवराज सुवेदीले बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन औषधालयका प्रमुख डा. सुरेश पुनले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *