
नेपालगन्ज, २२ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ ।
नगर प्रमुखप्रशान्त विष्टले आज मंगलबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । महिला–पुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको २ ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डर समेतको भवन सञ्चालनमा आएको हो ।

२०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पौष २८ मा सम्पन्न भएको हो । १ करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने २ करोड रहेको छ । कुल क्षेत्रफल १३२१ बर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ बर्ग मिटर छ ।

खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजना ब्यवस्थापन कार्यालय प्रमुख रत्नप्रसाद लामिछानेले नगर प्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनको लागि स्वामित्व पत्र हस्तान्तरण गर्नु भएको हो ।

त्यस क्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै स्थानीयहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अवस्था बनेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
