Wednesday, May 27सत्यम खबर
Shadow

कोरोना संक्रमणकै अवस्थामा परीक्षार्थीले लोक सेवाको परीक्षा दिन नपाउने !

काठमाडौं, २६ असोज – लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड ल्याएको छ ।
उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ ।
‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ । संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डको ८ नम्बर विविध अन्तर्गत यस्तो व्यवस्था उल्लेख गरिएको छ ।


कोरोनाबाट सिर्जना हुन सस्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी आयोगबाट सञ्चालन हुने प्रतियोगिताम्क परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ ।
सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो । आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो ।
पहिलो चरणको परीक्षा सकिए पनि आयोगले कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा पनि स्थगित गर्दै आएको थियो । अब ती परीक्षा पनि सञ्चालनको तयारीमा आयोग पुगेको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ ।
एक परीक्षा केन्द्रमा एक सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन मिलाइने आयोगको भनाइ छ ।
‘एक बेन्चमा एक जना परीक्षार्थी राख्ने र दुई परीक्षार्थी बीचको दूरी दुई मिटर हुने गरी व्यवस्थापन मिलाउने,’ आयोगको मापदण्डमा भनिएको छ ।
परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनु पर्नेछ । परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था पनि आयोगले गर्दैछ ।
नक्कली परीक्षार्थी प्रवेश नहोस् भन्नका लागि आयोगले उम्मेदवारको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई पहिचान गर्ने जनाएको छ ।
‘उम्मेदवारसँगको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई उम्मेदवारको पहिचान एकिन गरी उत्तरपुस्तिकामा सहायक केन्द्राध्यक्षले दस्तखत गर्ने,’ मापदण्डमा भनिएको छ ।
परीक्षार्थी परीक्षा सुरू हुनु एक घण्टा अघि नै केन्द्रमा पुगि सक्नु पर्नेछ । मास्क, सेनिटाइजर र आफ्नो लागि खानेपानी परीक्षार्थी आफैंले लैजानु पर्नेछ । (सेतापाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *