Wednesday, March 11सत्यम खबर
Shadow

डा. केसीले तोडे अनसन

काठमाडौं, २५ असोज – सरकारसँग ८ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन् ।
डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ । यो सहमतिसँगै डा. केसीले २८ दिनदेखिको आमरण अनसन आईतबार अन्त्य गरेका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएका छन् ।


शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरात डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको थियो ।
सहमतिको पहिलो बुँदा सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना बारे छ । सहमति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ ।
सुदूर पश्चिम प्रदेशको गेटामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पनि सहमति भएको छ । गेटा मेडिकल कलेजको भवन निर्माण सम्पन्न भइसकेको छ । अस्पताल भवन, छात्रावास भवन, कर्मचारी भवन लगायत भौतिक पूर्वाधार ८० प्रतिशत पूरा भइसकेका छन् । अन्य पूर्वाधार पनि निर्माणकै चरणमा छन् ।
उक्त मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गर्न मन्त्रिपरिषदमा रहेको एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयकलाई आगामी हिउँदे अधिवेशनमा संघीय संसदसमक्ष पेस गरिनेछ । ऐन जारी भएलगत्तै भौतिक पूर्वाधार एवं जनशक्ति पूरा गरी २०८० फागुन १० भित्र एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रदेश २ को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना गर्ने पनि सरकार र केसी पक्षबीच सहमति भएको छ । बर्दिबास मेडिकल कलेज स्थापनाका लागि सरकारबाट जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको छ । हाल विस्तृत परियोजना प्रस्तावसम्बन्धी कार्य सुरू भएको छ ।
यो मेडिकल कलेजमा पनि २०८० फागुन १० भित्रै एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्दै भौतिक एवं शैक्षिक पूर्वाधार विकास गर्ने कार्यलाई तीव्रता दिने सहमतिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेकोमा २०८० फागुन १० भित्र एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गर्दै भौतिक एवं शैक्षिक पूर्वाधार विकास गरिनेछ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस लगायत कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानको सिनेटबाट गुरुयोजना पारित गरिसकेको छ । त्यसअनुसार भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्न अर्थ मन्त्रालय समक्ष प्रस्ताव पेस गरिएको छ ।
उक्त प्रतिष्ठानलाई गुरुयोजना अनुरुप पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्ने र २०८० फागुन १० भित्र एमबिबिएस लगायत कार्यक्रम सञ्चालन गर्ने सहमतिमा उल्लेख छ ।
डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ । यी मेडिकल कलेजका सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भइसकेका छन् ।
त्यस्तै, प्रदेश २ को सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिइनेछ । यसको पूर्वाधार विकास समिति गठन भइसकेको छ ।
सहमतिको दोस्रो बुँदाअनुसार कोभिड–१९ को उचित व्यवस्थापनका लागि पिसिआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गरिनेछ । बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट व्यवस्था गर्ने पनि सहमतिमा छ ।
विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझावअनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था प्रस्ताव गर्न तीन साताभित्र मस्यौदा तयार गरिनेछ । कानुनी व्यवस्था नहुञ्जेल वरिष्ठता र कार्यक्षमतालाई आधार मानेर पदाधिकारी नियुक्त गर्ने सहमतिमा उल्लेख छ ।
सहमतिको पाँचौं बुँदाअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ संशोधन गर्ने प्रयोजनका लागि चिकित्सा शिक्षा आयोगद्वारा कार्यदल गठन भइसकेको सन्दर्भमा सरकार र डा. केसीबीच २०७५ साउन १० मा भएको सम्झौताअनुसार छुट भएका विषयसमेत कार्यदलको क्षेत्राधिकारभित्र राखिनेछ ।
स्नातकोत्तर तहको सिट विभाजन सम्बन्धमा चिकित्सा शिक्षा आयोगको परामर्शमा वैज्ञानिक एवं न्यायोचित अनुपात कायम हुने गरी पुनरावलोकन गरिनेछ ।
सहमतिका सबै बुँदा कार्यान्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरूले गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमतिमा डा. केसी र सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *