Tuesday, April 21सत्यम खबर
Shadow

खजुरामा सुरु भयो पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड

खजुरा, ७ माघ – बाँकेको खजुरामा आज आईतबारदेखि पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आज एक समारोहका बिच संघीय सांसद एवम् नेपाली कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गर्नु भयो ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफानको अध्यक्षतामा भएको रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी पदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह कुर्मी र प्रदेश सभासद रत्न खत्री सहभागि हुनु भएको थियो ।
उद्घाटन समारोहमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय सांसद राठौरले खजुराको विकास निम्ति आफु इमानदार भएर लागिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यस क्षेत्रका जनतालाई म धन्यवाद दिन चाहन्छु । मलाई विश्वास गरेर विजयी गराउनु भएको छ । म तपाईहरुको विश्वासलाई टुट्न दिने छैन । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पुर्वाधारको विकासको लागि काम गरिरहेको छु ।’


प्रदेश सभासद कुर्मी र खत्रीले खजुरा क्षेत्र खेलकुदका क्षेत्रमा उर्वरी क्षेत्र भएको भन्दै खजुराको विकास लागि सहकार्य गरेर काम गर्ने बताउनु भयो । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भइरहेको प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । १५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको प्रशासनिक एवम् व्यवस्थापकीय कार्यलाई व्यवस्थित गर्न माधव शर्माको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ । रनिङ शिल्ड प्रतियोगिताको मैदानलाई व्यवस्थित गर्न सिटिजन नमुना माध्यमिक विद्यालय सिंगाउँका प्रधानाध्यापक नरेन्द्र ददेललाई फिल्ड मार्सल र सहायक फिल्ड मार्सलमा पशुपति माध्यमिक विद्यालय घियाका प्रधानाध्यापक टिका वलीलाई मनोनयन गरिएको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छबि विष्टले बताए ।


छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा खजुरा गाउँपालिकाको गिजरा सामुदायिक वनमा पाइने निल गाईको प्रतिक चिन्ह मस्कटको रुपमा राखिएको छ ।
प्रतियोगिताले खजुरा गाउँपालिकाको खेलकुदको स्तरलाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने खजुरा गाउँपालिका अध्यक्ष विकले बताउनु भयो । प्रतियोगिताले खजुराबाट नयाँ प्रतिभावान खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले बताउनु भयो ।
प्रतियोगिताको मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । एथलेटिक्सको ट्रयाक अन्तर्गत १०० सय मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको छ । फिल्ड तर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताउनु भयो ।
आधारभुत तह (कक्षा ५–६) मा एथलेक्सको १०० मिटर, ४ गुणा १०० मिटर र ८०० मिटर दौड, फिल्डमा लङजम्प र सटपट खेल समावेश गरिएको छ । आधारभुत तह (कक्षा १–५) सम्म ४ गुणा ५० मिटर रिले, १०० मिटर दौड, लङजम्पमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
यसैगरी चेस प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका विद्यालयहरुबाट एक–एक जना छात्र–छात्राहरुको सहभागिता रहने छ ।
खजुरा गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिता पहिलो पटक शुक्र भलिबल स्टेडियममा हुन लागेको हो । यस अघि व्यवस्थापन गर्ने विद्यालयमा प्रतियोगिता आयोजना हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *