Sunday, April 19सत्यम खबर
Shadow

नेपालगन्जमा भब्यता साथ मनाईयो विवाह पञ्चमी (फोटो फिचरसहित)

नेपालगन्ज, २ मंसिर – विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष झैं यस वर्ष पनि नेपालगन्जमा भब्य र सभ्य तवरले परम्परागत रुपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको विवाह धार्मिक परम्परागत रुपमा सम्पन्न गरिएको छ ।
नेपालगन्ज त्रिभुवन चोक स्थित मन्दिरबाट बाजागाजासाथ निकालिएको भगवान श्रीरामको बारात (जन्ती) नगर परिक्रमा गर्दै गंगनगञ्ज स्थित जानकी मन्दिर प्राग·ण पुगि भब्य स्वागत गरिएको थियो । स्वागत पश्चात जन्तीमा सहभागीहरुलाई भोजन आदि समेत खुवाईएको थियो ।


सो अवसरमा नेपालगन्जका विभिन्न संघसंस्थाहरुको सहकार्यमा गरिब विपन्न परिवारका दुई जना चेली (छोरी) हरुको विवाह समेत सम्पन्न गरिएको थियो भने धार्मिक परम्परा अनुसार छोरीलाई उपहार स्वरुप प्रदान गर्नुपर्ने बेड, विस्तर, स्टील अलमारी, कुर्ची लगायतका उपहारहरु समेत उपलब्ध गराईएको थियो ।
कशौधन वैश्य समाज, कशौधन वैश्य महिला मञ्च, मिथलिस महिला मञ्च लगायत संस्थाहरुको सहकार्यमा आर्थिक संकलन गरी कन्यदानमा लाग्ने सम्पूर्ण खर्च गरिएको सहभागीहरुको भनाई रहेको थियो ।


जन्ती स्वागतमा तल्लीन जानकी मन्दिर व्यवस्थापन समितिले फुलमाला साथ स्वागत गरेका थिए । उक्त अवसरमा भजन किर्तनको आयोजना समेत गरिएको थियो भने उक्त धार्मिक भजन किर्तनमा सहभागी भक्तजनहरुले मुन्त्रमुग्ध भई नाचेका थिए ।
विवाह पञ्चमीको अवसर पारी नेपालमा जनकपुरमा रहेको जानकी मन्दिरमा समेत प्रत्येक वर्ष भब्यताका साथ कार्यक्रम आयोजना हुँदै आईरहेको थियो । सोही अनुसार विगत ५–७ वर्षदेखि नेपालगन्जमा समेत विवाह पञ्चमी कै अवसरमा धार्मिक आयोजना हुँदै आईरहेको मन्दिर व्यवस्थापन समितिद्वारा जनाईएको छ । उक्त अवसरमा हजारौं श्रद्धालु भक्तजनहरुको सहभागिता भएको थियो ।
विवाह पञ्चमी किन मनाईन्छ ?


राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ ।
महत्त्व ः उक्त विवाह भएको खुशीयालीमा सम्झना स्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रही–आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ ।


त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृति अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देश देशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् । हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ ।


त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि बैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्द्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरू मध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ ।


मेलाको परम्परा ः यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा (बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूह (बाराती समूह)लाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ । यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ ।


त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा–अनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकी जीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ ।
त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राम मन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा–अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *