
नेपालगन्ज, १८ कार्तिक – शुक्रबार राती ११ः४८ बजे ६.४ हेक्टर मापन गरिएको भुकम्पमा परी हालसम्म १५६ जनाको मृत्यु भई सकेको छ भने ८०० बढी घाईते भएको जानकारी गराईएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेस्क्यू टीम लगायत मार्फत भुकम्पमा परी घरमा फसेका, दबेकालाई बचाव कार्य जारी रहेको छ ।
शुक्रबार राती गएको भुकम्पमा परी मृत्यु तथा घाईत हुनेहरुको संख्यामा बृद्धि हुन सक्ने समेत बताईएको छ । हालसम्म घाईतेहरुको उपचारमा पायक पर्ने देशमा रहेका सबै स्थानका अस्पतालहरुमा तयारी (अर्लट) अवस्थामा स्वास्थ्यकर्मीहरुलाई रहन सम्बन्धित जिल्ला प्रशासन मार्फत निर्देशन समेत जारी भईसकेको छ ।
यसैक्रममा नेपालगन्जमा समेत पूर्ण तयारी अवस्थामा शनिबार बिहानैदेखि प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेलको निर्देशनमा भेरी अस्पताललाई राखिएको थियो । प्राप्त जानकारी अनुसार दिउँसो १२ बजेसम्म २७ बढी घाईतेहरु भेरी अस्पतालमा उपचारको लागि पुगिका छन् भने उनको उपचारमा तयारी अवस्थामा रहेका डाक्टरहरु समेत खटि सकेको बताईएको छ ।
जाजरकोट र रुकुममा गएको भुकम्पमा करीब १०० बढी घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भईसकेको विभिन्न समाचार स्रोतहरुले जानकारी गराई सकेका छन् ।

भूकम्पमा परी गम्भीर घाइते भएका जाजरकोटका २७ जना घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरुलाई भेरी अस्पतालमा पु¥याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
अहिलेसम्म नेपाल एयरको बिमानबाट १८ महिनाको शिशुसहित १७ जना घाईतेलाई उपचारका लागी ल्याईएको छ । अन्य घाइतेहरू समेत जाजरकोट र रुकुम पश्चिमबाट भेरीमा ल्याउँदै गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
जाजरकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ । बाँके प्रशासनबाट बिहान ३ बजेबाटै तयारी थालिएको भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको जानकारी गराईएको छ ।
कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ र पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिक प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ । हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको छ । जहाज घाइतेको उद्वार गर्न काठमाण्डौबाट रुकुम सल्ले हुँदै नेपालगन्ज आइपुगेको छ । जहाजलाई पाइलट पेम्बा शेर्पा र को–पाइलट सुजन पुरीले उडाएर ल्याएका हुन् । जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरुलाई पनि नेपालगन्ज ल्याइने तयारी गरिएको बताइएको छ ।
