Monday, June 29सत्यम खबर
Shadow

६० जना पत्रकारको निःशुल्क आँखा जाँच

नेपालगन्ज २८ भाद्र – बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो ।
आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन पत्रकारहरुको आँखामा सुख्खापन लगायतका सामान्य समस्या देखिएको फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकले बताउनु भयो ।


निःशुल्क आँखा जाँच र औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले बताउनु भयो । उहाँका अनुसार पत्रकारको बुवा, आमा र श्रीमतीलाई आँखाको मोतिविन्दु देखिएमा उहाँहरुको शल्यक्रियामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको बताउनुभयो ।


आँखा जाँच कार्यक्रमको शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले संघले पत्रकारहरुका लागि गरिएको सामाजिक तथा मानविय सेवा अन्तर्गतको कार्यक्रमले पत्रकारहरु बढी लाभ लिएको बताउनुभयो । उहाँले मानिसको सबैभन्दा बढी सम्बेदनशिल आँखा भएकाले आँखाको परिक्षणमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
फत्तेबाल आँखा अस्पतालका लेखा प्रमुख जीतबहादुर चौधरीले अस्पतालबाट प्रवाह गर्ने सेवाको बारेमा जानकारी गराउँदै आँखाको बढी हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभारम्भ कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेश सचिव जयसिंह केसी, सदस्य मो. आरिफ अन्सारी, प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, सल्लाहकार माधवराम बर्मा, शिवप्रसाद पाठकलगायतको उपस्थिती रहेको थियो ।


अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको १५ वर्ष पुरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ ।
संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने निर्णय अनुसार आज आँखा जाँच गरिएको छ भने भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिता बारे एक दिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *