
काठमाण्डौ, १२ भाद्र – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणमा नयाँ व्यापारिक नाका खोल्ने विषय उठाउने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद ऐनबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै उनले नयाँ व्यापारिक नाका भ्रमणको एजेन्डामा रहेको बताएका हुन् ।
सांसद शाहीले आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू एजेन्डामा समावेश गर्न भनेका थिए ।
‘आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू खोल्ने एजेन्डामा मुगुको नाक्चेलाग्ना छ कि छैन ? छैन, भने एजेन्डामा समावेश गरियोस् यो नाका खुलेमा मुगु लगायत समग्र कर्णाली प्रदेशमा नै आर्थिक रूपमा समृद्धि ल्याउने छ,’ उनले सोधेका थिए ।
त्यस्तै, आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र कर्णाली प्रदेशका रारा लगायताका पर्यटकीय स्थानहरूमा पर्यटन पूर्वाधार लगायत विभिन्न समस्या हुँदा पर्यटकहरूको आवागमनमा कमी भएको कुरा पनि प्रश्नमा राखेका थिए ।

कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी कालोपत्र र गमगढी नाक्चेलग्ना सडक निर्माणलाई सरकारले कस्तो प्राथमिकतामा राखेको छ ? र कहिलेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ? भनेर पनि प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
‘रारा लगायतका पर्यटकीय स्थलको विकासका लागि संघीय स्रोतबाट सञ्चालन हुने कार्यक्रमका अतिरिक्त प्रदेश तथा स्थानीय तहबाट समेत आ–आफ्ना कार्य क्षेत्रभित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा रहेका छन्,’ उनले भने, ‘नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको जानकारी गराउँछु । हाल नाग्मा–गमगढी ६ किलोमिटर कालोपत्रे र ८ किलोमिटर ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको छ। त्यसैगरी गमगढी–नाक्चेलाग्नामा १२ किलोमिटर निर्माणको कार्य भइरहेको छ,’ प्रधानमन्त्रीले भने ।
