
काठमाडौं, १९ असोज – प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली काँग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका छन् ।
आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले बाहिर निकाल्न निर्देशन दिए ।

आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस् । घिसारेर निकालिहाल्नुस् । निकालिहाल्नुस् ।’
यो बेला काँग्रेस सांसदले संसदीय मर्यादा कायम् गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए । लगत्तै बोलेका मन्त्री केसीले थपे, ‘मान्य सदस्यहरू। बाहिर निकालिहाल्नुस् ।’
मन्त्री केसीले काँग्रेस सांसदलाई संसदमा तोडफोड गरेको भन्दै बिपीले गिज्याइरहेको बताएका थिए । संसदीय अभ्यासको नमूना कांग्रेसले प्रदेशसभामा तोडफोड गरेको उनको भनाइ थियो । सभामुखले समय दिएपछि मन्त्री केसी सांसदले सोधेका प्रश्नको जवाफ दिन रोष्टम पुगेका थिए । (सत्यपाटी)
