
काठमाण्डौ, ५ भाद्र – विदेशमा जागिर लगाइदिने लोभ देखाएर बाङ्ग्लादेशबाट नेपालमा ल्याएर बन्धक बनाउने अनि फिरौती उठाउने गरेको आरोपमा प्रहरीले यो साता सात जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका केही बाङ्ग्लादेशीसँग नेपालको नागरिकता र केहीसँग भारतको आधार कार्ड पनि पाइएको र त्यो नक्कली भएको हुनसक्ने आशङ्का गरिएको केसीले जनाएका छन्।
काठमाण्डू र ललितपुरका तीन ठाउँबाट पक्राउ गरिएका दुई नेपाली र पाँच जना बाङ्ग्लादेशीविरुद्ध अहिले काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले सङ्गठित अपहरण तथा शरीर बन्धक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।
नेपालमा लामो समयदेखि बस्दै आएका र यहाँ विभिन्न पेसा व्यवस्थामा संलग्न बाङ्ग्लादेशीहरूले नेपाली समेतसँग मिलेमतो गरी सङ्गठितरूपमा योजनाबद्ध तरिकाले बाङ्ग्लादेशबाट मानिस बोलाउने गरेको पाइएको उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बीबीसीलाई बताए।

“नेपालमा आइपुगेपछि उनीहरूलाई होटेल वा घरमा राख्ने अनि बन्धक बनाएर परिवारसँग फोन र भिडिओमार्फत् फिरौती माग गर्ने गरेको पाइएको छ,” एसएसपी केसीले बीबीसीसँग भने।
त्यसरी बन्धक बनाइएका ८ जना बाङ्ग्लादेशीमध्ये दुई जना महिलालाई नक्सालस्थित स्पाबाट र बाँकी ६ जना पुरुषमध्ये दुई जनालाई एअरपोर्ट नजिकैको होटेलबाट अनि चार जनालाई हरिसिद्धिस्थित व्यक्तिको घरबाट उद्धार गरिएको केसीले बताए।
पक्राउ पर्नेमा उक्त घरका घरधनी पनि रहेको बताइएको छ।
खासगरी बन्धक बनाइएकाहरूलाई पोल्यान्ड पठाउने भन्दै नेपाल ल्याइएको र पहिलो चरणमा प्रतिव्यक्ति १० लाख टाकासम्म फिरौती उठाइसकेको पाइएको केसीले बताए।
उनीहरूलाई नेपालमै बन्धक बनाइँदा पोल्यान्ड पुर्याइसकेको भन्दै अर्को २० लाख टाका पनि फिरौती माग गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको पाइएको उनले बताए।
केही बाङ्ग्लादेशमै बस्ने नागरिक र केही नेपालमा लामो समयदेखि बस्दै आएका बाङ्ग्लादेशीकै योजना अनुसार त्यसरी मानिस ल्याइएको र त्यस्तो क्रियाकलापमा नेपालीहरू पनि जोडिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी कार्यालयले जनाएको छ।
बाङ्ग्लादेशका नागरिक नेपालमा यस्तो आपराधिक क्रियाकलापमा संलग्न भएको देखिएसँगै विगतमा पनि नेपाल हुँदै तेस्रो मुलुक जाने गरेको हुनसक्ने शङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
“यो सम्बन्धी अरू सूचनाहरू पनि खोज्ने प्रयत्न गरिरहेका छौँ। यसमा अरू पनि संलग्न हुनसक्ने हाम्रो आशङ्का छ,” केसीले भने।
“विगतमा पनि पोल्यान्ड वा अन्य देशमा बाङ्ग्लादेशीहरू गएका छन् कि भनेर हामीले अनुसन्धान गरिरहेका छौँ।”
विगत ३ वर्षमा नेपालमा कति बाङ्ग्लादेशीविरुद्ध मुद्दा चल्यो?
नेपालमा विगतदेखि नै बाङ्ग्लादेशीहरू विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार २०७९/२०८० मा ९ जना बाङ्ग्लादेशीविरुद्ध अवैध मुद्रा, बिना भिसामा बसेको, जबरजस्ती करणी, सङ्गठित अपराध, भिओआईपी र बन्धक बनाएर फिरौती माग गरेको जस्ता आपराधिक घटनामा कारबाही अगाडि बढाइएको छ।
प्रहरीको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा नेपालमा अपराध बढी गर्नेमा भारतपछि दोस्रो स्थानमा बाङ्ग्लादेशका नागरिक रहेका थिए।
वर्षभरि १३ जना बाङ्ग्लादेशीविरुद्ध भन्सार छली, लागु औषध, मानव बेचबिखन, किर्ते जस्ता आपराधिक घटनामा मुद्दा लगाइएको तथ्याङ्कले देखाउँछ।
त्यस्तै २०७७/२०७८ मा बाङ्ग्लादेशका दुई जना नागरिकविरुद्ध लागु औषधमा कारबाही चलेको थियो। Radio Miteree
