
नेपालगन्ज (डेस्क), १ भाद्र – चीनको उत्तरी क्षेत्रमा रहेको भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ । गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ । अहिले उनीहरूलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ । डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग’ निकै खतरनाक महामारीमा परिणत हुन सक्ने जनाएको छ । मध्य यगु मा यसले लाखाँै मानिसको ज्यान लिएको थियो ।
विज्ञप्तिमा पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शङ्कास्पदलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । सरकारका अनुसार पहिले श्रीमतीमा सङ्क्रमण देखिएको थियो, त्यसपछि श्रीमान् र छोरीमा पनि लक्षण पोजेटिभ देखिएको थियो । तर, अहिलेसम्म सबै सङ्क्रमित र उनीहरूको सम्पर्कमा आएका शङ्कास्पद व्यक्तिमा कुनै असामान्य लक्षण भने देखिएको छैन ।
उनीहरू सबैलाई औषधि दिइएको छ । अगस्टको पहिलो हप्तामा स्वास्थ्य आयोगले आफ्नो वेबसाइटमा बुबोनिक प्लेगको एक केसमा धेरै अङ्ग विफलताका कारण एक बिरामीको मृत्यु भएको बताएको थियो । यो प्लेग सङ्क्रमण मुसाबाट सर्छ । बुबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो । मध्य युगमा यसलाई ‘ब्ल्याक डेथ’ भनेर चिनिन्थ्यो । यसको मुख्य कारण प्लेग नामक ब्याक्टेरिया हो । यो ब्याक्टेरियल सङ्क्रमण भएकाले एन्टिबायोटिकबाट पनि यसको उपचार सम्भव छ ।
