
नेपालगन्ज, २५ श्रावण – फत्तेबाल आँखा अस्पतालमा १ महिना अगाडीबाट सेवा प्रदान गर्दै १५ जना बिरामीहरुलाई सेवा दिईसकेको भएतापनि आज बुधबारदेखि आँखा सम्बन्धी अकुलोप्लास्टि र कर्नियाका बिरामीहरुको लागि विधिवत सेवा सुचारु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट तथा उपमेयर कमरुद्दीन राईले संयुक्त रुपमा अकुलोप्लास्टि र कर्नियाको उद्घाटन गर्दै आँखा सम्बन्धी उपचारमा यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको फत्तेबाल आँखा अस्पतालको प्रशंसा गरेका छन् ।
मेयर बिष्टले आफू निर्वाचित भएर आएदेखि नै बाटो, पुल आदि बनाउनुका साथै उपमहानगरबासीहरुलाई स्वास्थ्य राख्ने उद्देश्यका साथ विगतमा फत्तेबाल आँखा अस्पतालसँग सहमति गरी ५ सय बिरामीहरुलाई मोतियाबिन्द सम्बन्धी उपचार गराई अन्धोपन हुनुबाट जोगाउन सफल भएको बताउनुभयो ।
गत वर्षमा उपमहानगरभित्र ७ सय जना आँखा बिरामीहरुको अन्धोपन हटाउन सफल भएको हुँदा अब आउने समयमा थप बजेट बिनियोजित गरी अन्धोपन हटाउने तर्फ लाग्ने भएको हुँदा यसबाट गरिब, निमुखीहरुले निःशुल्क उपचार पाउने बताउनुभयो ।
फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार बर्माले ३५ वर्ष अघि अन्धोपन निवारणको प्रमुख लक्ष्यसहित स्थापित फत्तेबाल आँखा अस्पतालले देशमा आँखा सम्बन्धी सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको जानकारी गराउँदै भविष्यमा रेटिना (आँखा पर्दा), जलबिन्दु तथा बच्चाहरुको आँखा सम्बन्धी विषयहरुमा विशिष्टीकृत सेवा शुरु गर्दै बिरामीहरुको आवश्यकताको पुर्तिका साथै फत्तेबाल आँखा अस्पताललाई नेत्र विज्ञान अध्ययन संस्थानको रुपमा विकसित गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
यसैगरी मेडिकल डाईरेक्टर देवराज भारतीले अकुलोप्लास्टि बिरामीमा बन्द भएको आँशुनलिको अपरेशन, आँखाको ढकनी भित्र गएको वा बाहिर फर्केकोको उपचार, जन्मजात वा पछि तल खसेको आँखाको ढकनीको उपचार, आँखाको क्यान्सरको उपचार तथा थाईराईडले आँखामा हुने असरको उपचार सम्बन्धी जानकारी गराउनु भएको थियो ।
भारतीले यस अघि भारतको लखनऊ, नयाँ दिल्ली तथा काठमाण्डौमा उपचारको लागि जानु पर्ने भएको हुँदा बिरामीहरुलाई आर्थिक भार थपिएको थियो । भारतमा समेत ५० हजार भारुमा खर्च लाग्ने यस उपचारको फत्तेबाल आँखा अस्पतालबाट ३० हजार नेपाली रुपैयाँ मै उपचार सम्भव भएको बताउनुभयो ।
यसैगरी डा. राजसी श्रेष्टले कर्नियामा आँखाको नानी प्रत्यारोपण, आँखाको नानीमा हुने घाउको उपचार, आँखाको नानीमा हुने दागको उपचार तथा कन्टेक्ट लेन्सको सेवा प्रदान गरिने जानकारी गराउनुभयो ।
कार्यक्रमको सभापतिको आसनबाट बोल्दै कावा अध्यक्ष केशवराम बर्माले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै फत्तेबाल आँखा अस्पतालबाट बिरामीहरुलाई नविनतम उपचार तथा सुरक्षित वातावरणमा उच्च गुणस्तरको सेवा सुनिश्चितता गराउनु नै हाम्रो लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा फत्तेबाल आँखा अस्पतालका कर्मचारी, डाक्टरहरु, आजीवन सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

भिडियो हेर्न तल लिंकमा जानु होस…
