काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
आज युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका हुन् ।
उनले जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ ।’
आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर हल्ला चलाएकाले पूर्वनिर्धारित युरोपका केही देशका भ्रमण कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको
उनले जानकारी दिए ।
अध्यक्ष नेपालले आफू यसअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट प्राप्त नहुँदा ढिला भएको बताए । उनले ललिता निवास जग्गा प्रकरणमा निर्दोष नफसोस् र दोषी नउम्कियोस् भन्ने धारणामा आफू दृढ रहेको बताए ।
अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताए । उनले भने, ‘गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन ।’