
नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन यही भाद्र २ गते सम्पन्न हुन गईरहेको थोरै समय बाँकी रहँदा दुबै समूहका व्यापारी उम्मेदवारहरुले आ–आफ्नो प्यानलको लागि भोट माग्न आम उद्योगी व्यवसायीहरु माझ भेटघाटलाई तिब्रता दिएका छन् ।
यसैक्रममा समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले मतदाताहरुलाई आफ्नो प्यानलको लागि भोट माग्दै आफ्नो प्यानल विजयी भएको अवस्थामा व्यापारीहरुको प्रत्येक समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
समावेशी प्यानलका उम्मेदवारहरुले बिहीबार नेपालगन्जको घरवारी टोल हुँदै बागेश्वरी टोलका मतदाताहरुसँग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।
संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको समावेशीबाट अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामी, उपाध्यक्ष (उद्योग) चिरञ्जीवी ओली, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, उप–महासचिव मदनराज शर्मा, कोषाध्यक्ष सलाउद्दिन जसगढ लगायतको प्यानलसँग घरवारीटोल, बागेश्वरी टोल हुँदै सदरलाईनका व्यवसायीहरुलाई आफूहरुको प्यानल संघको नेतृत्वमा पुगे संघमा आमूल्य परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन् ।
आमूल्य परिवर्तनका लागि नेतृत्व भन्दै आएको समावेशी प्यानल नै उद्योगी व्यवसायीहरुको रोजाईमा देखिएका छन् । थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व समावेशी प्यानल भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो प्यानललाई नै हुने बताए ।
वाणिज्य संघको निर्वाचनमा यो पटक समावेशी प्यानलतर्फ मतदाताहरुको बढ्दो लहर देखिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन यही भाद्र २ गते सम्पन्न हुने भएको छ भने निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरेको छ ।
