Saturday, April 18सत्यम खबर
Shadow

साझा प्रजातान्त्रिक समूहको प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगन्ज, २३ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको भाद्र २ गते सम्पन्न हुन गईरहेको निर्वाचनमा आ–आफ्नो प्यानलका प्रतिबद्धता पत्रहरु सार्वजनिक गर्ने क्रममा आज मंगलबार साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह नेपालगन्जले आफ्नो १८ बूँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
समूहको अध्यक्षका उम्मेदवार ललितकुमार रौनियार सार्वजनिक गरिएको प्रतिबद्धता पत्र बाचन गर्दै ‘हामी नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको पूर्व सन्ध्यामा छौं । हामी हाम्रा सम्पूर्ण अग्रज उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दल, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरु, सहयोगी तथा सम्पूर्ण शुभ चिन्तहहरुको योगदानको स्मरण गर्दै यहाँहरु प्रति उच्च सम्मान व्यक्त गर्दछौं’ भन्नुभयो ।
उम्मेदवार रौनियारले बाचन गरेका प्रतिबद्धता पत्रमा ‘१) जिल्ला भरीका उद्यमी व्यवसायीहरुका विवरण अद्यावधिक रुपमा संकलन गरी सबै प्रकारका सदस्यहरुको समस्याहरुको पहिचान गरी कर, भन्सार, स्थानीय कर, आन्तरिक ओसार–पसार लगायतका विषयमा रहेको जटिलतालाई सहजीकरण गर्नका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय तथा अन्य सरकारी कार्यालयहरुसँग समन्वय गरी समस्याको हल खोजिने छ ।, २) बैंक ब्याजदरको बृद्धि, ऋण प्रवाहमा भएको समस्याको कारणले उद्योग व्यवसायीहरुले भोग्नु परेको कठिन परिस्थितिको अन्त्य गर्न प्रभावकारी कदम चालिने छ ।, ३) बन्द रहेका उद्योगहरुलाई संचालन गर्ने वातावरण तयार गर्न पहल गर्ने तथा बाँके जिल्लामा थप उद्योगहरुलाई स्थापना गर्न समन्वयकारी भूमिका खेल्ने छौं ।, ४) नेपाल भारत सीमामा देखिएका व्यापारिक समस्याहरु न्यूनिकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दुखदिने क्रियाकलापको निराकरणको लागि हामीले पहल गर्ने एवं समाधानका लागि सम्बन्धित निकायमा पहल गरी समस्याको हल गरिनेछ । भारतीय प्रहरी प्रशासन तथा नेतागत, भारतीय व्यापारीक संगठनहरु बीच नियमित समन्वयात्मक बैठकको आयोजना गरिने छ’ भनी उल्लेख गरेका छन् ।
त्यसैगरी अध्यक्ष पदका उम्मेदवार रौनियारले ‘५) भारतबाट आयात गर्ने वस्तुहरुको चर्को भन्सार दरले गर्दा चोरी पैठारी लगायत अनौपतारिक व्यापारलाई बढावा मिल्ने हुनाले नेपाल सरकारसँग सम्बाद गरी न्यून दर गराउन पहल गर्ने तथा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय सरकारसँग समन्वयन गरी भन्सार नाकालाई कडाईका साथमा परिचालन गराई स्थानीय व्यापारमा प्रत्यक्ष प्रभाव देखिने गरी आवश्यक गतिविधि दृढ अठोटको साथ कार्य गर्ने सोको अनुगमन र मूल्यांकन निरन्तर गर्नेछौं ।, ६) जडिबुटी निर्यातकको हाल समस्याको रुपमा रहेको प्लान्ट क्यारेनटाईन टेष्ट भारतीय सुचीमा नपरेकोले निर्यात गर्न कठिनाई हुँदै आएको तथा भारतीय पक्षले ट्रान्जिट परमिट जारी गर्ने झन्झटिलो प्रक्रियाले निर्यात गर्न सुलभ र सहज वातावरण नरहेकोले सम्बन्धित नियकाहरुसँगको सहकार्यमा प्रत्यक्ष निर्यात हुने गरी पहुँच बिस्तार गर्न पहल गरिनेछ ।, ७) कर प्रणालीलाई सहज बनाउनका लागि पहल गरिनेछ । व्यवसाय दर्ताको झन्झिटिलो प्रावधानलाई सहज बनाउनका लागि पहल गरिनेछ । स्थानीय सरकारले असुल गर्ने व्यवसाय दर्ता सिफारिस शुल्क न्यून गर्न पहल गरिनेछ । घरेलु महासंघसँग सहकार्य गरी साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न संयुक्त संयन्त्र निर्माण गरिनेछ ।, ८) प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत बाँके जिल्लामा रहेको तरकारी क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउनका लागि सिफारिस गर्न नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रसँग सहकार्य गरिनेछ ।, ९) पर्यटन सँग सम्बन्ध संघसंस्थाहरुसँग सहकार्य र साझेदारी गरी पर्यटन प्रहरी संगठनमा जोड, पर्यटकीय गन्तब्यहरुको प्रवर्धन र विकास, संरक्षण र गतिविधिमा जोड दिनेछौं । हाट बजार संचालन, नेपालगंज फुड लेनको स्थापना, रात्री बजारको पहल तथा क्यासिनो, स्पा सेन्टरहरुलाई मर्यादित बनाउन पहल गरिनेछ ।, १०) स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउन पहल गर्ने तथा युवाहरुलाई व्यवसाय गर्न रुची बढाउन तर्फ पहलकदमी गरिनेछ ।, ११) सुख्खा बन्दरगाह शीघ्र संचालनमा ल्याउनका लागि दवाव दिइने छ तथा भारतबाट आयात हुने जिएसटी बिललाई मान्यता दिलाउनका लागि सम्बन्धित निकायमा दबाव दिइने छ र एकिकृत जाँच चौकी (आईसीपी)लाई यथाशिघ्र प्रयोगमा ल्याई आयात निर्यातलाई सहजीकरण गरिनेछ, भनी उल्लेख गरेका छन् ।
त्यसैगरी अध्यक्ष पदका उम्मेदवार रौनियारले ‘१२) उद्योग तथा व्यवसायीको बिस्तार र विकासको लागि गुणस्तरयुक्त, प्रयाप्त तथा नियमित बिजुली प्रथम सर्त हो । यसको सुधारको लागि स्थानीय विद्युत प्राधिकरण, प्रदेश विद्युत प्राधिकरण, केन्द्रिय विद्युत प्राधिकरण तथा नेपाल सरकारसँग यस क्षेत्रमा विद्युत उत्पादनको लागि छनौट भईसकेका जल विद्युत प्रोजेक्टहरुको यथाशिघ्र निर्माणको लागि तथा गुणस्तर बिजुलीको लागि प्रयाप्त सब स्टेशन तथा आवश्यक कार्यहरु आदि सबै सरोकार राख्ने संस्थाहरुसँग समन्वय गरी सम्बन्धी पक्षसँग निरन्तर पहल गर्नेछौं ।, १३) महिला उद्यमीहरुलाई आवश्यक तालिम प्रदान गरी स्वरोजगार बनाउन अभियान चलाउने तथा उद्योगी तथा व्यवसायीहरुलाई कर प्रशासन तथा अन्य आवश्यक नियम कानून सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने छ ।, १४) ब्यवसायिक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको प्रदेश कार्यकारिणी समितिमा नेपालगन्ज उद्योग वाणिज्य संघको बढि भन्दा बढि प्रतिनिधित्व गराई यस क्षेत्रको आर्थिक क्रियाकलापमा बृद्धि गरिनेछ । बाँके जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासका लागि जिल्लाका संघीय सांसद, प्रदेश सांसद, राजनैतिक दलहरु, स्थानीय सरकारका प्रमुखसँग समन्वय गरी जिल्लाको आर्थिक सम्बृद्धिको लागि एकिकृत एवं दिर्घकालिन व्यवसायिक योजना निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गरिनेछ’ भनी उल्लेख गरेका छन् ।
त्यसैगरी अध्यक्ष पदका उम्मेदवार रौनियारले ‘१५) नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, पदाधिकारी एवं सदस्यज्यूहरुको ज्ञान र अनुभवलाई अधिकतम उपयोग गर्नका लागि छुट्टै मञ्च स्थापना गर्ने तथा विभिन्न नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघ लगायत अन्य व्यवसायिक संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी अभिभावकत्व लिनुको साथै विशेषज्ञहरुबाट संघका सदस्यहरुलाई विभिन्न तालिमहरु प्रदान गरी दिगो व्यवसाय तर्फ उन्मुख गराईनेछ । युवाहरुको विदेश पलायन तथा दक्ष कामदार उपलब्धतामा धेरै कमी आएकोले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने सरकारी नीतिलाई सहयोग गर्न नेपालगन्ज उद्योग वाणिज्य संघ समेतले स्थानीय सरकारमा समन्वय गरी विभिन्न तालिमहरु तथा युवा लक्षीत कार्यक्रमहरु सञ्चालन गरिने छ ।, १६) बजार क्षेत्रमा पार्कि· व्यवस्थित गर्न उपयुक्त स्थानको पहिचान गर्ने तथा सार्वजनिक शौचालय निर्माण गर्न तथा उपलब्ध भएका सार्वजनिक शौचालयहरुलाई प्रयोगमा ल्याउन स्थानीय सरकारसँग सहकार्य गर्ने, व्यवसायिक सुरक्षाको लागि सिसि क्यामेरा जडान गर्न र भएकालाई मर्मत र सुचारु राख्न पहल गर्ने तथा स्थानीय निकाय तथा ईन्टरनेट प्रदायक निकायसँग समन्वय गरी आवश्यक स्थानमा निशुल्क ईन्टरनेटको व्यवस्थापन गर्नेछौं ।, १७) संघको सचिवालयलाई पूर्ण रुपमा डिजिटलाईजेशन र प्रविधिमैत्री र द्रुत सेवामुखी बनाईनेछ ।, १८) राप्ती नदी स्थित सिधनिया घाटमा शव दाह (लाश) जलाउने ठाउँको उचित व्यवस्थापन गरिनेछ’ भनी उल्लेख गरेका थिए ।
अध्यक्ष पदका उम्मेदवार रौनियारले प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा सहभागी पत्रकारहरुबाट उठेका प्रश्नहरुको सहज रुपमा जवाफ दिँदै आफ्नो प्यानललाई यस पटक अवसर प्रदान गर्न सबै सामु सार्वजनिक अपील समेत गरेका थिए ।
कार्यक्रमको समापन गर्दै संयोजक संजय थापाले हाम्रो साझा प्यानल विजय भएको अवस्थामा व्यापारी माझ रहेको समस्या समाधान गर्न प्रतिबद्ध भई लाग्ने बताउँदै समापन गरेका थिए भने सहभागीहरुलाई स्वागत महिला उपाध्यक्ष पदका उम्मेदवार करिस्मा योगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *