Friday, March 21सत्यम खबर
Shadow

‘भारतीय नक्सामा नेपाली भूमि समेटिएकोबारे भारतसँग छलफल गर्न दूतावासलाई निर्देशन दिइसक्यौँ’

काठमाण्डौ, ५ अषाढ – परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीय पक्षसँग छलफल गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस विषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसँग छलफल गरी रिपोर्ट गर्न दूतावासलाइ निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।

नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त विषय राजनीतिक नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए ।

उनले नेपालको नक्साका बारेमा आफूहरु स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने विषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने धारणा राखे ।

त्यस्तै मन्त्री साउदले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने बिषयमा सरकारका तर्फबाट दबाब दिन नमिल्ने तर्क गरे ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको र नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने गरी सहमति र सम्झौता भएको दाबी गरे । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *