
नेपालगन्ज, १ अषाढ – गौरब स्मृति तथा बियोर सेल्फ फाउण्डेशन बाँकेले आफ्नो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले गौरब शाहले जिवान्त रहँदै गरेका कार्यहरु अधुरा छोडी गएको भएतापनि उनका बुवा तथा यस संस्थाका संरक्षक प्रदीप शाह ज्यूले मानवता प्रेमी कार्य अगाडी बढाउँदै गरेको कार्यभन्दा राम्रो बिकल्प गौरबलाई सम्झने नभएको हुँदा आवश्यक भए नेपालगंज उपमहानगरपालिका समेतले सामाजिक दायित्व बहन गर्दै हातेमालो गर्न सक्ने बताउनुभयो ।
विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बिष्टले गौरब शाह आज हामी बीच नरहेपनि उनले युवा पिडामा जगाएको सामाजिक भावना कहिल्यै समाप्त नहुने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसैगरी समाज सेवी तथा विशिष्ट अतिथि माधवराम बर्माले समाज सेवा के हो, समाज सेवाको परिभाषा के हो । समाज सेवा प्रति सबैले प्रतिबद्धता जनाउन सके समाजमा परिवर्तन आउनुबाट कसैले छेक्न नसक्ने बताउनुभयो ।
कार्यक्रमको अतिथिहरुमा प्रेस युनियका पूर्वअध्यक्ष नरेन्द्र थापा, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वली, प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सिना, औषधि व्यवसायी संघ उपाध्यक्ष सुदिप खड्का, प्रेस सेन्टर बाँके संयोजक राजेश आचार्यलगायतले गौरब शाहद्वारा विगतमा गरिएका कार्यहरुको चर्चा गर्नुका साथै कार्यक्रम सफलताको कामना गरेका थिए ।
गौरब स्मृति तथा बियोर फाउण्डेशनका सदस्यद्वय प्रेक्षा केसी तथा अनुपा चौधरी अतिथिहरुलाई खादा लगाई सम्मान गरेका थिए । कार्यक्रममा आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण वितरण गर्नुका साथै य गौरब शाहको दोस्रो स्मृतिमा स्व. पत्रकार लक्ष्मण सापकोटालाई मरणोपरान्त सम्मान तथा आश्रित परिवारलाई नगद ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग उपलब्ध गराईएको थियो ।
कार्यक्रममा गौरब स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका कार्यवाहक अध्यक्ष मधु शाहद्वारा फाउण्डेशनको परिचय गराईएको थियो ।
फाउण्डेशन परिचय ःआफूमा आफू रहेर बाँच्न सके अरूलाई पनि सहयोग गर्न सकिन्छ भन्ने महान उद्देश्य साथ फाउण्डेशनको स्थापना भएको हो । फाउण्डेशनका परिकल्पनाकार नेपालगन्ज वडा नम्बर ४ निवासी गौरब शाहले घरबाट पाउँदै आएको पकेट खर्चलाई बचाएर समाजमा ससनो आवश्यकतामा परेका आफूले देखे जतिका व्यक्तिलाई सहयोग गर्न थाले । गौरबको उक्त मानवीय कार्यलाई उनीहरूका साथीहरूले पनि साथ दिए । सामाजिक सेवा गर्ने मन भए फाउण्डेशन दर्ता बिनै र अन्य दातृ निकायको सहयोग बिनै पनि ससाना आधारभूत आवश्यकताबाट वञ्चित व्यक्तिलाई पकेट खर्च बचाएर पनि सहयोग गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल गौरबको परिकल्पनाले नै आज गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेशनको जन्म भएको हो।
सामाजिक काममा निरन्तर लागिपरेका गौरबले सबै युवा जनशक्तिलाई एकत्रित गरी संंस्था दर्ता गरेर बृहत रूपमा मानव सेवा गर्ने सोच बनाएका थिए। दुर्भाग्य समाजमा रहेका विपन्न, गरिब, दुखीलाई केही गर्छु भन्ने महान सोच लिएका गौरब धेरै समय हामी माझ रहेनन् । २०७८ मा मृत्यु भइसकेपछि भावविह्वल गौरबको घरपरिवारले उनको सोचलाई पूरा गर्ने उद्देश्यले गौरबका बुबा प्रदीप शाहले गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेसन २०७८ सालमा दर्ता गरेका हुन् । यस फाउण्डेशनका संरक्षक रहेका प्रदीप शाहले गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेशनका नाममा ८ लाख रूपैयाँको अक्षय कोष खडा गरेका छन् ।
फाउण्डेशनको अक्षय कोषबाट आएको ब्याज र फाउण्डेशनको मानवीय कार्यप्रति आकर्षित भएर विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोग रकमले निरन्तर रूपमा सामाजिक कार्य भइरहेको छ ।
एक व्यक्तिबाट परिकल्पना गरिएको फाउण्डेशनमा हाल ४६ जना आजीवन सदस्यहरु मानवीय कार्यमा सक्रिय रुपमा लागेका छन् ।
फाउण्डेशनले गरेका मुख्य गतिविधिहरुः
(१) छाडा पशु चौपायालाई खाना तथा औषधी उपचार गरिएको ।
(२) बाँकेको विभिन्न स्थानीय निकायमा महिलाहरुलाई स्यानेटरी प्याड वितरण तथा महिनावारी
सम्बन्धी सचेतीकरण कार्यक्रम ।
(३) ज्येष्ठ नागरिक तथा विपन्न परिवारका सदस्यको स्वास्थ्य चेकजाँच कार्यक्रम ।
(४) निल सागर आश्रम वृद्धाश्रममा रहेकालाई खाना खुवाउने कार्यक्रम ।
(५) विवाह, भोजभतेरमा बचेका खानाको सदुपयोग गर्दै गाई, कुकुर र घरपालुवा जनावरलाई खाना
व्यवस्था गरिएको ।
(६) धार्मिक, सांस्कृतिक अवसरमा भक्तजनहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गरिएको ।
(७) खानाको स्टल कार्यक्रम गरेर प्राप्त रकमबाट भेरी अस्पतालमा रहेका कुपोषित बालबालिकालाई
खेलौना वितरण ।
(८) समय समयमा निःशुल्क स्वास्थ्य शिविर संचालन ।
(९) मानवसेवा आश्रममा रहेका व्यक्तिलाई खानाको व्यवस्था गरिएको ।
(१०) कोभिड–१९ को महामारीका समयमा मास्क वितरण तथा कोरोना रोकथाम सम्बन्धी
सचेतीकरण कार्यक्रम गरिएको ।
(११) आवश्यकतामा परेका विभिन्न व्यक्तिलाई निशुल्क मोतियाविन्दु अप्रेसन गरिएको ।