नेपालगन्ज ११ असोज – अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । भोली सोमबार २८ सेप्टेम्बरका दिन पर्ने दिवसको अवसरमा सूचनाको हक सम्वन्धी ऐनलाई पुर्ण रुपमा कार्यान्वयनमा जोड दिइनेछ ।
नागरिकको थाहा पाउने अधिकार अन्र्तगत सूचनाको हकलाई सार्वजनिक निकायले सबै सूचना तथा जानकारी सार्वजनिक गर्नुपर्ने हुन्छ । तर अहिले त्यस्तो नभएको पाइन्छ । यसै सन्दर्भमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
संस्थाले प्रदेश ५ अन्तर्गत पर्ने सम्पुर्ण स्थानीय तहमा कोभिड–१९ को खर्च विवरण सार्वजनिकको सूचना माग गर्ने, प्रदेशका मुख्यमन्त्री समक्ष सूचनाको हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाउने, बाँके र बर्दियामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालको प्रत्येक तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना विवरणको सार्वजनिकीकरण गर्ने लगायतका कार्यक्रम गर्ने भएको छ ।
दिवसलाई भव्यता र उपलब्धीमुलक बनाउनका लागि अभियानमुलक कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष विश्वजीत तिवारीले बताउनुभयो ।
