
नेपालगन्ज, १० असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ (हाल वडा नं. ६) फुल्टेक्रा गाउँ स्थित धार्मिक र आस्थाको रुपमा मान्यता प्राप्त जगन्नाथी थान (मन्दिर), होलिका दहन स्थान, फुल्टेक्रा स्कुल सामुन्ने रहेको सार्वजनिक कुँवा र सदियौंदेखि वडा नं. ६ का बासिन्दाहरुले शुभ–विवाहमा दुलहा घुमाउने कुँवालगायत स्थान मर्मत सम्भारको परखाईमा जिर्ण हुँदै गएको छ ।

उक्त जिर्ण आस्थाका धरोहरहरुलाई संरक्षण गर्न वडा कार्यालयलाई पटक–पटक ताकेता गर्दा समेत कुनै वास्ता नगरेको पाईन्छ । स्थानीय युवा हितेश भारतीका अनुसार यस टोलमा भएका सम्पूर्ण धार्मिक आस्थाका रुपमा रहेका मन्दिर, सार्वजनिक जग्गाआदिलाई कसैले कब्जा गर्नु अगावै केही बजेटमार्फत मर्मत सम्भार र घेराबन्दी गर्नु उपयुक्त हुनेछ ।

‘होलिका दहन हुने स्थान सार्वजनिक भएको हुँदा त्यहाँ कब्जा गरिएको छ, तर सम्बन्धित पक्ष र वडा कार्यालय मौन भएको पाईन्छ, किन मौन छन् ।’ भनी प्रश्न गर्छन् भारतले ।
‘आउने दिनमा हामीले यस्तै जिर्ण अवस्थामा छोड्ने हो भने हिन्दू धर्मावलम्बीहरुले शुभ विवाहको अवसरमा गाउँ मै रहेको मान्यताप्राप्त कुँवाको जग्गा समेत कसैले कब्जा गरी आफ्नो हो भन्न बेर छैन’, भनी तर्क राख्दै भने– ‘फुल्टेक्रामा अरु धेरै नभएपनि कम से कम वडा कार्यालयले हाम्रो आस्थाको रुपमा रहेको जगन्नाथी मन्दिर, होलिका दहन स्थल, शुभ विवाहमा (केटा) दुलहा घुमाउने कुँवा आदिलाई मात्र संरक्षण गर्न सके राम्रो हुने थियो’, बताउनुभयो ।

सार्वजनिक जग्गा र मंन्दिर संरक्षण कै लागि विगत ५ महिना अगाडी मदनराज शर्माको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । उक्त उपभोक्ता समिति गठन पश्चात वडा कार्यालयले बजेट नै नदिंदा मर्मत सम्भार कार्य गर्न नसकेको उपभोक्ता समितिका अध्यक्ष शर्मा बताउँछन् ।

अध्यक्ष शर्माका अनुसार हामीले वडा कार्यालय कै स्वीकृतिमा उपभोक्ता समिति गठन गरेका थियौं । तर कोभिड–१९ को मारमा लकडाउन पछि कार्य गर्ने भनी जानकारी प्राप्त भयो, त्यसपछि हालसम्म वडा कार्यालय मार्फत कुनै जानकारी प्राप्त नभएको र यदि वडाले सोही उपभोक्ता समितिलाई निरन्तरता दिई कार्य गर्ने अवसर दिन्छ भने हामी आफै अटोरात्र खटी मन्दिर मर्मत र सार्वजनिक जग्गामा मिनि पार्क बनाउने जस्तो कार्य गर्नेछौं ।
