नरैनापुर, १७ चैत – बाँके नरैनापुर गाउँपालिकाका सूचना अधिकारीले आज गरेको अकस्मिक अनुगमनमा पूरै गाउँपालिका कर्मचारी अनुपस्थित पाइएका छन् ।
आज शुक्रवार विहान ठिक १० बजे सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले गरेको अनुगमनमा प्रशासकीय अधिकृत देखि सबै शाखाका कर्मचारीहरु अनुपस्थित पाइएका हुन् ।
लामो समयदेखि कर्मचारी नआउने, आएपनि सेवाग्राहीको काम नगर्ने गुनासो आइरहेकोले अनुगमन गरिएको हो, नेपालगन्ज न्युज संग कुरा गर्दै सूचना अधिकारी मिश्राले भने, यस विषयमा प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षको ध्यानाकर्षणका लागि जानकारी गराइएको छ ।
विहान भएको अनुगमनमा स्वास्थ्य शाखा, कम्प्युटर शाखा र पञ्जीकरण शाखामा कार्यालय सहयोगी र फिल्ड सहायक भेटिएका छन् । त्यस बाहेक कृषि शाखा, पशु शाखा, शिक्षा शाखा, रोजगार शाखा, महिला तथा बालबालिका शाखा, न्यायिक समिति, योजना शाखा, लेखा शाखा, पूर्वाधार शाखा र जिन्सी शाखा बन्द अवस्थामा पाइयो ।
उल्लेखित शाखाका कर्मचारीहरु बुधवार देखिनै अनुपस्थित रहेको कार्यालय श्रोतले जनाएको छ । उनीहरुको अनुपस्थित हुने सम्बन्धमा गाउँपालिकामा कुनै विदा स्वीकृत नरहेको र हाजिरी रजिष्टरमा उपस्थित समेत नरहेको पाइएको हो ।
