
नेपालगन्ज, ७ चैत – पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा एक सय ५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।
फलफूल वितरण अघि कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाली काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले कोइराला कै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेस बीचको एकता अपरिहार्य रहेको बताउनुभयो । हमालले काँग्रेस बीचको एकता कायम गर्न सक्नु नै कोइरालाप्रति सच्चा सम्मान र सम्झना हुने पनि उल्लेख गर्नुभयो ।
पार्टी सभापति गौडेलले मुलुकको शान्ति स्थापनामा गिरिजाबाबुले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई द्वन्दबाट जोगाउन कोइरालाले गरेको योगदान विश्व मानचित्रमा सदैब उदाहरणीय हुने बताउनुभयो । कोइरालाले मजदुर आन्दोलनबाट थालेको राजनीतिक यात्रा पार्टी सभापतिसँगै मुलुकको कार्यकारी प्रमुखसम्म पुग्नु आफैंमा एउटा प्रेरणाको स्रोत भएको गौडेलको भनाई छ ।
संबिधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले गिरिजाबाबुको योगदान कै कारण राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले मेलमिलाप, एकता र शान्ति चाहने गिरिजाप्रसाद कोइरालाको जस्तो विचार प्रत्येक काँग्रेसी कार्यकर्ताको मनमनमा हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले कोइरालाको स्मृति दिवसमा बाँके काँग्रेसले बिरामीलाई फलफूल वितरण गरेर स्मरण गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
पार्टी सचिव सुधांशु कोइरालाले संचालन गर्नुभएको सो कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा काँग्रेस बाँकेका निवर्तमान पार्टी सभापति किरण कोइराला, काँग्रेस नेता हुर्मत न्यौपाने, पार्टी सहसचिव रेणु सिंह ठाकुर, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।
