Wednesday, April 29सत्यम खबर
Shadow

चीनमा अचानक बेपत्ता भइरहेका छन् व्यवसायीहरू, के छ कारण ?

काठमाण्डौ, १५ फागुन – छिमेकी राष्ट्र चीनमा गत केही दिनदेखि सबै कुरा सामान्य रूपमा चलिरहेको छैन । चीनका व्यवसायीहरू एक्कासी बेपत्ता भएको खबरले सबैलाई यतिखेर चकित पारिदिएको छ। सर्वप्रथम अलिबाबाका संस्थापक ज्याक मा अचानक बेपत्ता भए र अब अर्का ठूला लगानी बैंकर बेपत्ता भएपछि हंगामा मच्चिएको छ ।

चीनको सबैभन्दा ठुलो लगानी बैंकमध्ये एक बाओ फ्यान बेपत्ता बनिरहेको छ। बाओ फ्यानको कम्पनी रेन्साले हङकङ स्टक एक्सचेन्जलाई यसबारे जानकारी दिँदै धेरै प्रयास गर्दा पनि बाओसँग सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ५२ वर्षीय बाओ विगत तीन–चार दिनदेखि बेपत्ता छन्। यो खबर आएसँगै कम्पनीको सेयर ५० प्रतिशतले घटेको छ ।

चीनको सबैभन्दा ठूलो लगानी बैंकरहरू मध्ये एक बाओ फ्यान बेपत्ता छन्। यसअघि अलिबाबाका संस्थापक ज्याक मा बेपत्ता थिए, त्यसपछि उनी टोकियोमा फेला परेका थिए । उनीभन्दा अगाडि सन् २०१५ मा चीनका वारेन बफेट भनिने गुओ गुआङचाङ पनि यस्तै प्रकारले अचानक बेपत्ता भएका थिए ।

यसपछि सन् २०२० मा चीनको रियल इस्टेटका राजा भनिने रेन झिकियाङ अचानक बेपत्ता भएका थिए। ज्याक मा सन् २०२१ मा बेपत्ता भएका थिए । अब बाओ बेपत्ता भएको खबरले सबैको होश उडाएको छ। कम्पनीको सेयर घट्दै गइरहेको छ । बाओ बेपत्ता भएपछि चिनियाँ व्यवसायीहरु एक्कासी किन बेपत्ता भइरहेका छन् भन्ने प्रश्न फेरि एकपटक उठ्न थालेको छ ।

चीनका ठूला व्यापारीहरु एकाएक बेपत्ता भइरहेका छन् । यदि यी सबै घटनालाई नियाल्ने हो भने रेन झिकियाङले चिनियाँ राष्ट्रपति सी जिनपिङको कथित रूपमा आलोचना गरेका थिए। यसकै केही दिनपछि अचानक उनी बेपत्ता भए । पछि उनलाई १८ वर्षको जेल सजाय सुनाइएको थियो । त्यसैगरी ज्याक माले पनि व्यापारमा चिनियाँ सरकारको हस्तक्षेपको खुलेर आलोचना गरेका थिए।

उनी पनि बेपत्ता भए । केही महिनापछि उनी टोकियोमा भेटिए। चीनको कडा भ्रष्टाचार नीतिबाट व्यापारीहरू डराएका छन्। रिपोर्ट अनुसार बाओको कम्पनीका अध्यक्ष कोङ लिनलाई भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि उनीसँग पनि सोधपुछ भइरहेको थियो । चीनमा कुनै पनि व्यापारी सरकारी अनुसन्धानमा संलग्न हुँदा अचानक बेपत्ता हुने गरेको पनि देखिएको छ ।

बाओ चीनको सबैभन्दा ठूलो लगानी बैंकर हुन्। उनले सन् २००५ मा चाइना रेन्सा सुरू गरेका थिए । यस कम्पनीको सहयोगमा उनले धेरै टेक कम्पनीहरू बीच सम्झौताहरू गराउदथे। कम्पनीहरू बीच मर्जरमा महत्त्वपूर्ण भूमिका खेल्छन्। उनले दिदी क्याब बुकिङ र कुएदी-को विलय, फूड डेलिभरी एप मिटस र डियानपिङको मर्जरमा प्रमुख भूमिका खेलेका थिए। यसबाहेक जेडी डट कम ई-कमर्सको आईपीओ ल्याउनमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका छन् । उनको कम्पनीले Ctrip र Qunar सँग सम्झौता गरेको छ। बाओ प्राविधिक फर्ममा एक प्रमुख लगानीकर्ता भएको छ। उनको गणना चीनको शीर्ष ब्रोकेरको रूपमा हुँदछ।

चिनियाँ सरकारको नीति नै व्यापारीहरू बेपत्ता हुनुको प्रमुख कारण हो । चिनियाँ सरकारले व्यवसायीसँग गरेको व्यवहार नै व्यवसायीहरू बेपत्ता हुनुको ठूलो कारण रहेको विज्ञहरुको भनाइ छ ।चिनियाँ सरकार निजी व्यवसायीहरूको हातमा धेरै धन होस् भन्ने चाहँदैन । सी जिनपिङ यसलाई ठूलो खतरा मान्छन्। जसका कारण केही वर्षयता चीनमा व्यापारीको सम्पत्ति जफत गर्ने र पक्राउ गर्ने घटना बढ्दै गएको छ ।

सन् २०१२ मा सत्तामा आएपछि मात्र चीनको सी जिनपिङ सरकारले भ्रष्टाचार विरोधी अभियान सुरू गरेको थियो। यो कानुनले चीनभर त्रास फैलाएको छ । यो कानून अन्तर्गत चीनमा अहिलेसम्म लाखौं मानिसमाथि अनुसन्धान भइसकेको छ । व्यवसायी मात्र होइन, सेनाका कर्मचारी र अधिकृतलाई पनि यो कानूनमा सजाय दिइएको छ । यो कानुनको डरले धेरै व्यवसायी लुकेर बसेको मानिन्छ। कतिपयलाई सरकारले बेपत्ता पारेको पनि बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *