
नेपालगन्ज, १० माघ – नेपालगन्जमा मंगलवारदेखि सुरु भएको चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ मा थारु गाउँ महोत्सवको चर्चा भएको छ । मंगलवार नेपालगन्ज महोत्सवको उद्घाटनसंगै थारु गाउँ महोत्सवको पनि उद्घाटन भएको हो ।
माघ १० गतेदेखि सुरु भएको नेपालगन्ज महोत्सवमा थारु गाउँ महोत्सवको चर्चा व्यापक रहेको दर्शकले जनाएका छन् । थारु गाउँ महोत्सवलाई थारु समुदायको चलन अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्मा, सोनारी राप्ती मिडियाका प्रवन्धक हेमन्त चौधरीले दारु चढाएर उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पत्रकार महासंघका उपाध्यक्ष शर्माले थारु महोत्सवले थारु समुदायको संस्कृतिलाई अझ उजागर गरिने जानकारी गराउनुभयो । थारु महोत्सव भित्र अन्य समुदायको उपस्थिति देखेर थारु समुदायको कला संस्कृति र विभिन्न परिकार स्वाद लिन दर्शकको उपस्थितिले रहेको जिकिर गर्नुभयो ।
थारु गाउँ महोत्सव भित्र थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, मुसाको चटनी, अचार, सिध्रा, सुङगुरको मासु, माछा, आलुको अचार, जाँडको झोल लगायतका परिकार पाइने सोनारी राप्ती मिडिया प्रालिका संचालक हेमन्त चौधरीले बताउनुभयो ।
थारु गाउँमा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको चौधरीले बताउनुभयो । थारु गाउँमा १५ वटा थारु स्टल रहेका छन् भने थारु गाउँमा प्रवेश गर्न ३० रुपैया टिकटदर लाग्ने आयोजक सोनारी राप्ती मिडिया प्रालिले जनाएको छ । थारु गाउँमा थारु संग्राहलय समेतको अवलोकन गर्न पाइने छ ।
उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व सचिव तिलक गाउँले, सदस्य डिल्ली विसी, जावेद अहमद, राजेश आचार्य, आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष भगतराम थारु लगायतको उपस्थिति रहेको थियो । थारु गाउँमा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारले उद्घाटन कै दिन सांस्कृति प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन मंगल थारुले गर्नुभएको थियो ।
